काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने रणनीतिमा छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै लगातार संसद् बैठक अवरुद्ध गरिरहेको कांग्रेसले आजको बैठक पनि चल्न नदिने बताएको छ।
आइतबारको संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरेलगत्तै पत्रकार सम्मेलन गरेका कांग्रेस महामन्त्री गगन थापाले आफूहरुको माग अनुसारकै संसदीय छानबिन समिति नबनाए संसद्का कुनै पनि काम-कारबाही अगाडि बढ्न नदिने बताएका छन्।
कांग्रेसले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक समेत बोलाएको छ।