काठमाडौँ । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा बेथिति, अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहितको प्रतिवेदन कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सङ्घको नेतृत्वमाथि छानबिन प्रक्रिया अघि बढाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएपछि आर्थिक र प्रशासनिक सन्दर्भमा उठेका विषयको छानबिन अघि बढाइने बताउनुभएको हो ।
उहाँले आइतबार गृह मन्त्रालयका प्रतिनिधिसहित सङ्घका अध्यक्ष साम्देन लामा, अपाङ्गता अधिकारकर्मी एवं अधिवक्ता विदुरकुमार थापासहित सरोकारवालासँग संवाद गर्नुभएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा २०८० माघ १० गते गठित समितिले छानबिनका क्रममा व्यापक अनियमितता, पदाधिकारी र मनोमानी भएको निष्कर्ष निकालेको थियो ।
प्रजिअ बस्नेतले सुधारका काम तीन महिनाभित्र पूरा गर्न निर्देशन दिए पनि सङ्घको नेतृत्व र पदाधिकारीले सरसफाइबाहेकका काम नभएका कारण छानबिन अघि बढाउने तयारी गरिएको बताउनुभयो । उहाँले सङ्घको तदर्थ समिति बनाउने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले खगेन्द्र नवजीवन केन्द्रको आर्थिक अनियमितताका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सम्बन्धित निकायलाई पत्र लेख्ने तयारी गरेको छ ।
उहाँले भन्नुभयो, “प्रतिवेदन सार्वजनिक भएपछि सरसफाइबाहेक अरू कुनै काममा प्रगति भएको छैन । आर्थिक अनियमितता, प्रशासनिक विषयमा छानबिन गराउने तयारी भएको छ । अनुसन्धान गरेर मुद्दा लैजान सक्ने अधिकार प्राप्त निकाय अख्तियार, अनुसन्धान विभाग, सिआइबी हुन् । ती निकायलाई छानबिन अघि बढाउन भन्छौँ ।” नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भएको छ । केन्द्रमा भएको अनियमितताका सम्बन्धमा गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको छ । आजको गोरखापत्र दैनिकबाट