काठमाडौं । सरकारको कार्यविभाजन नियमावली २०७४ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अवशिष्टसहित ४८ वटा जिम्मेवारी दिएको छ। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफ्नो महत्वपूर्ण जिम्मेवारीमा चुक्दै आइरहेको छ।
अहिले त कतिसम्म भने सचिव र सहसचिवको सरुवामा नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बढी समय जाने गरेको पाइएको छ।
सरकारको नीति तथा कार्यक्रम तय गर्ने, कार्यान्वयन गर्ने, सुशासन कायम गर्ने, सेवा प्रवाह चुस्त बनाउने, शासकीय प्रबन्ध, सुशासन प्रवर्द्धन र प्रशासनिक सुधार, संघीय शासन प्रणाली अन्तरप्रदेशसम्बन्धी कार्य, मानव अधिकारको संरक्षण, प्रवर्द्धन र समन्वय, भ्रष्टाचारविरुद्धको नीति, योजना निर्माण तथा कार्यान्वयनलगायतका महत्वपूर्ण जिम्मेवारीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।
सचिव सरुवाको सूची बन्ने र हप्तौंसम्म केरमेट भइरहने काम प्रधानमन्त्री कार्यालयमा नै हुने गरेको छ । त्यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गएको सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै महिनौंसम्म गायब हुने गरेको बताइएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट