काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ ।
नेपालगन्ज नाका स्थित एकीकृत भन्सार जाँच चौकीको आज शुभारम्भ गर्दै उहाँले औपचारिक रूपमा सञ्चालनमा आएपश्चात् दुई देशबिचको व्यापारमा सहजीकरण हुने बताउनुभएको हो ।
मन्त्री भण्डारीले जाँच चौकी सञ्चालनमा आएसँगै चोरीपैठारी नियन्त्रण र आन्तरिक राजस्वमा वृद्धि हुने बताउनुभयो । “एकीकृत जाँच चौकीको प्रयोगले व्यापारमा हुने सन्तुलनलाई पनि नियन्त्रण गर्ने छ,” उहाँले भन्नुभयो, “सबैभन्दा प्रमुख कुरा गैरकानुनी रूपबाट हुने चोरीपैठारी पूर्ण रूपमा नियन्त्रणमा आउने छ ।”
नेपाल–भारत जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । मन्त्री भण्डारीद्वारा उक्त जाँचचौकीको शुभारम्भ गरेपश्चात् औपचारिक रूपमा सञ्चालनमा आएको भन्सार अधिकृत कुवराज विश्वकर्माले जानकारी दिनुभयो ।
करिब दुई अर्ब ७५ करोडको लागतमा निर्माण भएको उक्त एकीकृत जाँच चौकी निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको १८ वर्षपछि एकीकृत जाँच चौकी औपचारिक रूपमा सञ्चालनमा आएको हो । एकीकृत जाँच चौकी नेपाल र भारत दुवैतर्फ निर्माण भएको छ । नेपालतर्फ जग्गा नेपाल सरकारले छुट्याए पनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो ।
विसं २०७५ माघ १ गते भारतका तत्कालीन केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आइसिपीको निर्माणको शिलान्यास गर्नुभएको थियो । भारततर्फ आइसिपीको शिलान्यास भएको दुई वर्षपछि नेपालतर्फ भूमि पुजन गरिएको थियो । एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को निर्माण २०७७ साल असोज ६ गतेबाट सुरु भएको थियो । आजको गोरखापत्र दैनिकबाट