त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ ठगहरूको कब्जामा

16.5k Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ माफियाको कब्जामा हुँदा सर्वसाधारण जनता र ट्याक्सी चालकले महँगो शुल्क तिरेर पार्किङ गर्नुपर्ने बाध्यता व्यहोर्दै आएका छन् । त्यहाँ हुने ठगीका कारण सर्वसाधारण पीडितसमेत हुँदै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेबापत आईएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीले सवारी प्रवेश गर्नेबित्तिकै प्रतिसवारी ४० देखि १ सय ५० रुपियाँसम्म शुल्क लिने गरेको छ। गत बुधबार बेलुका ८ बजे गोरखाका ट्याक्सी चालक रूपेश खवास पार्किङ क्षेत्रमा यात्रु पर्खिएर बसिरहनुभएको थियो।

उहाँले ट्याक्सी पार्क गर्नेबित्तिकै एकै मिनेटमा यात्रु पाए पनि १ घण्टाकै पैसा तिर्नुभयो। उहाँले अन्त कतै ट्याक्सी रोक्ने ठाउँसमेत नहुँदा सर्भिसकै पार्किङ प्रयोग गर्नुपर्ने बाध्यताले महँगो शुल्क तिर्नुपर्ने परेको गुनासो गर्नुभयो।

त्यसै गरी सर्वसाधारण कतै झुक्किएर सर्भिसको पार्किङभित्र सवारी प्रवेश गराउँदा चर्को रकममा पर्ने गरेका छन् । सर्लाहीका अभिषेक दाहाल ठगिनेमध्येकै एक हुनुहुन्छ। उहाँले आफन्तलाई जापान पठाउन मोटरसाइकल पार्किङ गर्न भनी मोटरसाइकल प्रवेश गराउनेबित्तिकै ४० रुपियाँ तिर्नुपरेको गुनासो गर्नुभयो।

ओखलढुङ्गाका जीवन शर्माले पनि मोटरसाइकल प्रवेश गराउनेबित्तिकै ठगेको गुनासो नेपाल समाचारपत्रलाई गर्नुभएको छ। शर्माले केही दिनअगाडि काम विशेषले एयरपोर्टमा गएको सर्भिसको पार्किङमा आफू अन्जानमा प्रवेश गरी निस्कँदा ४० रुपियाँ तिर्नुपरेको गुनासो गर्नुभयो।

आईएमएस एयरपोर्ट सर्भिसले बसको १ सय ५०, माइक्रो बस १ सय, कार ८०, ट्याक्सी ६० र मोटरसाइकलको ४० रुपियाँ लिने गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले सो कम्पनीले ५१ रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएको बताउनुभयो । उहाँले निजी क्षेत्रले जति पनि शुल्क लिन पाउने भएको हुनाले रकम लिनु ठूलो विषय नभएको बताउनुभयो । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार