काठमाडौं । बजारमा अखाद्य तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्ने तथा गैरकानुनी कार्य गर्ने ८ सय ७३ वटा फर्महरू कारबाहीमा परेका छन् ।
बजार अनुगमन गरी अखाद्य वस्तुहरू बिक्री वितरण गर्ने फर्म तथा संस्थाहरूलाई कारबाही गर्ने जिम्मेवारीमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत २०८० साल साउनदेखि २०८१ साल वैशाख ३ गतेसम्मको ९ महिनाको अवधिमा ८ सय ७३ वटा फर्महरू माथि कारबाही गरेको हो।
गलत कार्य गर्ने र अखाद्य तथा गुणस्तरहीन वस्तुहरू बिक्री वितरण गर्ने फर्महरूलाई कारबाही गरी जरिवाना गर्दा ३ करोड ३८ लाख रुपियाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।
यद्यपि, विभागले आफ्नो अनुगमनलाई अझै सशक्त पार्नुपर्ने सुझाव आम उपभोक्ता तथा सर्वसाधारणको रहेको छ। विभागका अनुसार सो अवधिमा विभागले ३६ सय ५३ वटा अनुगमन गरेको थियो। यसै गरी ७४ वटा फर्ममा छापा मारी अखाद्य तथा गुणस्तरहीन वस्तुहरू नष्ट गरिएको थियो। नष्ट गरिएका वस्तुहरू १ करोड १९ लाख ३७ हजार ९ सय ८१ मूल्य बराबर रहेका थिए।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले विगतका वर्षहरूमा भन्दा अनुगमन गर्ने क्रम र कारबाहीको संख्या बढाइएको जानकारी दिनुभयो। विभागले आर्थिक वर्ष २०७९/८० मा ५४९ वटा फर्मलाई कारबाही गरेको थियो तर चालू आर्थिक वर्ष २०८०÷८१ को फागुन महिनासम्म ८ महिनाको अवधिमा ८ सय ४२ वटा फर्महरू माथि कारबाही गरिएको थियो। आजको नेपाल समाचारपत्र दैनिकबाट