वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईले आफैंलाई चोख्याए

20.8k Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले २४ जना नेपाली नागरिक र आठ जना विदेशीलाई प्रतिवादी बनाएको हो । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई आफैं जोडिएका भए पनि उनका विषयमा कुनै अनुसन्धान नै नभई अरू ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सबैमाथि १ अर्ब ४७ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री शाहीमाथि मूल्य बढाउने अनि विमानको भारवहन क्षमता घटाउने निर्णयमा संलग्न भएको आरोप लगाएको छ । शाहीले विमान खरिद गर्दा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सोअन्तर्गत बनेको सार्वजनिक खरिद नियमावली, २०६४ समेतको विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानुनी हानी पु¥याउने बदनियतसाथ ‘एमओयू’मा कानुन विपरीतको मूल्य निर्धारणको सर्त र विमानको प्रमुख टेक्निकल स्पेसिफिकेसन भारवहन क्षमतालाई २ सय ४२ टनबाट २ सय ३० टनमा कायम गर्ने एवं भुक्तानी २ सय ४२ टनको दिएको अभियोग लगाइएको छ । नेपाल वायुसेवा निगमका पदाधिकारीसँगको मिलेमतोमा बैंक जमानतबिना नै सटही सुविधा दिइएको आरोपमा उनीमाथि १ अर्ब ४७ करोड नै भ्रष्टाचार गरेको आरोप छ ।

त्यस्तै, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक एवं सञ्चालक समिति सदस्य सुगतरत्न कंसाकारमाथि टेन्डरको कागजात तयार गर्दादेखि नै बदनियत राखेको आरोप छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेको कार्यविधिविपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोधन नगरी नगराई, सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधि र सो अनुरूपको स्ट्यान्डर्ड बिडिङ डकुमेन्टविपरीतको ‘रिक्वेस्ट फर प्रपोजल डकुमेन्ट’ तयार गरी–स्वीकृत गरी गराई, ‘रिक्वेस्ट फर प्रपोजल डकुमेन्ट’मा विमानको प्राविधिक स्पेसिफिकेसन र सोलाई मापन गर्ने स्पष्ट नम्र्स–मापदण्ड नखुलाई, सार्वजनिक खरिद ऐन, २०६३ ले निर्धारण गरेका कार्यविधिविपरीत र पुष्ट्याइँका आधारबिना–मनासिव कारणबिना लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाएर बढी लागत अनुमान तयार गरेको अभियोग लागेको छ । विमानको क्षमता घटाएकाले लामो दूरीमा उडान भर्न नसक्ने अवस्था भएको भन्दै अख्तियारले उनको हकमा पनि पुरै बिगो मागदाबी गरेको हो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार