खोटाङ । दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रको काम सात वर्ष देखि अलपत्र परेको छ । निर्माण कम्पनी ठेकेदार र नियामक निकाय सडक कार्यालयका कर्मचारीको वदमासीले सात वर्ष अघि ९६ करोडमा ठेक्का लगाइएको ४८ किलोमिटर कालोपत्रे सडक अलपत्र हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन् ।
दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार [४८ किलोमिटर] सडकखण्ड दुई भागमा विभाजन गरी ठेक्का लगाएर कालोपत्र थालिएको थियो । महुरेदेखि राजापानीसम्मको २२ किमि सडक कालोपत्रको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले ठेक्का लिएको थियो । सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको २६ किमी सडकखण्ड कालोपत्रको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको थियो । कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने दुवै सडकखण्ड अलपत्र पारिएको हो ।
भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने गरी विसं २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र हुन सकेको छैन । भ्याटबाहेक रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ ।
सिम्पानीभञ्ज्याङ-फोक्सिङटार सडकखण्डको काम ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ । भ्याटबाहेक रु ५५ करोड ८७ लाखमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी विसं २०७३ साउन ११ गते सो खण्डको ठेक्का सम्झौता भएको थियो ।
सुुरुदेखि ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरेको स्थानीयबासीको भनाइ छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काएका थिए । काममा चरम ढिलासुस्ती, गुणस्तरहीन र कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयबासीले विसं २०७६ पुसमा विरोध गरी काम ठप्प पारेका थिए । आजको गोरखापत्र दैनिकबाट