काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७औँ वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापुर्वक सम्पन्न गरेको छ ।
साधारण सभाको अवसरमा बैङ्कले आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएको छ । बैङ्कले २०७९ पौष ७ गते देखि भने साबिक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जर भएको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको गरी कूल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले बढेर आर्थिक वर्ष २०७९/८०को अन्त्यमा बैङ्कको ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको साधारण सभामा सार्वजनिक गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैङ्कको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैङ्कको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ थियो ।