पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल

18.7k Shares

काठमाडौँ । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो । 

गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ पर्नुभएका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना हुनुभएको थियो । सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उहाँलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुनेबित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । 

यस्तै सुन तस्करीको अभियोगमा चैतको पहिलो साता पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि अस्पतालमा राखेर नै थप अनुसन्धान गरियो । उहाँले आफू अस्वस्थ रहेको भनी अदालतसमक्ष निवेदन गरेकाले अदालतको आदेशमा नै प्रहरीले नर्भिक अस्पतालमा राखेर थप अनुसन्धान गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता तथा सांसद टोपबहादुर रायमाझी पनि पक्राउ परेपछि अस्पताल भर्ना हुनुभएको थियो । हालै अनेरास्ववियु स्थायी कमिटी सदस्य रश्मि बमलाई पनि पक्राउपछि स्वास्थ्यको समस्या देखाउँदै अस्पताल भर्ना गरिएको थियो । 

यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय हिरासतमा बस्नभन्दा पक्राउ हुनेबित्तिकै बिरामी भएको भन्दै अस्पतालमै उपचार गराउने प्रवृत्ति बढेकाले नेपाल मेडिकल काउन्सिलले त्यसको कार्यविधि बनाउने तयारी गरेको हो । पक्राउ परेका व्यक्ति हिरासतमा नबसी अस्पतालमा भर्ना हुँदा अनुसन्धानलाई प्रभावित पार्ने भएकाले मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि निर्माण गर्न लागेको हो । 

विभिन्न आरोप लागेका उच्च पदस्थ तथा अन्य व्यक्तिले हिरासतबाट उम्कन आफू बिरामी भएको बहाना बनाउँदै अस्पताल भर्ना हुने क्रम बढेकाले मेडिकल काउन्सिलले पक्राउपछि कस्ता व्यक्तिलाई अस्पताल भर्ना गराउनुपर्ने भन्ने विषयमा कार्यविधि तय गर्ने छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार