कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

15.6k Shares

रुपन्देही ः गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको शनिबार शल्यक्रिया गरिएको छ ।
स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उनको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोशनमा राखेर निगरानी गरिरहेका थिए ।

बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । भोलि कोरोना परीक्षण गर्छौँ  त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ’, उनले भने । उनकाअनुसार यो सँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो ।

गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा  नेपालगञ्ज जान सुझाएका थिए । 
पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।  गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै छन् । 
  
सङ्क्रमित गर्भवतीलाई कोहलपुरसम्म लैजान एम्बुलेन्सले समेत नमानेपछि आफन्तले नीजि साधनमा नेपालगञ्ज पु¥याएका थिए । नियमित जाँच गर्दै आएका डाक्टर प्रायश्चित श्रेष्ठले समेत श्रीमानलाई कोरोना लागेको थाहा पाएपछि अब यहाँ नआएको भन्ने जवाफ दिएपछि गर्भवती तथा उनका आफन्त तनावमा परेका थिए । कोरोना फैलिएको करीब ५ महिनासम्म पनि पोजेटिभ बिरामीको शल्यक्रियाका लागि यस क्षेत्रमा व्यवस्थापन भएको छैन । लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरे जनाएको छ ।

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ ।

नेपालको संविधानको धारा ३८ को (२) मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । उपधारा ३ मा महिलालाई शिक्षा, स्वाथ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनि उल्लेख गरिएको छ । साथै महामारीको बेला यौन तथा प्रजनन् स्वास्थ्य अति आवश्यक सेवाको रूपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने नेपाल सरकारले प्रतिबद्धता व्यवहारमा कार्यान्वय भएको छैन ।– रासस  
 

सम्बन्धित समाचार