काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २ हजार ६४ केन्द्रका लागि ७७ हजार ५ सय जनशक्ति परिचालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सुरक्षाकर्मी र कार्यालय सहयोगीसहित ७७ हजार ५ सय जनशक्ति परिचालन हुने जानकारी दिनुभयो।
बोर्डले प्रतिकेन्द्र १ जनाका दरले २ हजार ६४ केन्द्राध्यक्ष, ४ हजार १ सय २८ सहायक केन्द्राध्यक्ष, २५ हजार २ सय २२ निरीक्षक, ५ हजार ५४ परीक्षा सहायक, १० हजार ८१ कार्यालय सहयोगी र प्रतिकेन्द्र १५ सुरक्षाकर्मीसहित ३० हजार ९ सय ४५ गरी ७७ हजार ४ सय ८५ जनशक्ति परिचालन गरिने भएको छ।
परीक्षामा प्रदेशगत रूपमा कोशीमा ३ सय ७८, मधेसमा २ सय ९५, वागमतीमा ४ सय ४१, गण्डकीमा २ सय १४, लुम्बिनीमा ३ सय ३८, कर्णालीमा १ सय ८६, सुदूरपश्चिममा २ सय ११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ।
सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २७ केन्द्र कायम गरिएको छ भने मनाङ, मुस्ताङ र जापानमा गरी एक–एक परीक्षा केन्द्र कायम गरिएको छ। जापानमा २३ विद्यार्थीले परीक्षा दिँदै छन्। नेपाल समाचारपत्र दैनिकबाट