बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

15.3k Shares

काठमाडौं- आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो। सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र, विराटनगरले जनाएको छ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म मात्रै मोरङमा वैदेशिक रोजगारीमा जाने एक सय ६ जना ठगिएका छन्। ठगिएकाहरूले मोेरङ प्रशासन तथा आप्रवासी स्रोत केन्द्रमा उजुरीसमेत दिएका छन्। जसमा हालसम्म मात्र १७ जनाले न्याय पाउँदा प्रमाणको अभावमा धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आप्रवासी श्रोत केन्द्र, मोरङका संयोजक दीपक राउतले चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म ठगी सम्बन्धी १०६ वटा केस प्राप्त भएको बताए।

उनले १७ वटा समाधान भएको र त्यसबाट प्राप्त रकम १ करोड १३ लाख ४३ हजार ५ सय रहेको बताए। वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ। प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ। सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क परामर्श, आवश्यक कानुनी सहायता र सीपमुलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ। यद्यपि, आफन्त तथा विचौलियाको लहलहैमा लागेर ठगिने क्रम बढेको परामर्शकर्ताहरू बताउँछन्।

आप्रवासी केन्द्र मोरङका परामर्श कर्ता सरोजकुमार खनालले वैदेशिक रोजगारीमा ठगीमा पर्ने र विदेश गइसकेपछि ठगीमा पर्नेहरुलाई पनि केन्द्रले सहजीकरण गरेर घर फर्काउने काम गरेको बताए। वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई केन्द्रले निःशुल्क सीप तालिम दिने गरेको उनकाे भनाइ छ।

अघिल्ला वर्षहरूमा खाडी मुलुकसँग सम्बन्धित ठगिएका घटनाहरू बढी आउने गरेका थिए। तर पछिल्लो समय युरोपियन मुलुकहरूमा पठाउनेहरूबाट पनि ठगी भएको भन्दै उजुरी प्राप्त हुन थालेको छ। मलेसिया, साउदी, दुबई, माल्टा र रोमानियाका साथै पछिल्लो समय क्यानाडा, अस्ट्रेलिया, पोल्याण्ड र जापान पठाउनेहरूले पनि ठगी गर्ने गरेको घटना बाहिर आउन थालेको मोरङ प्रशासनले जनाएको छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले अहिले धेरै नै युवापुस्ता ठगिएको बताए। उनले अहिले अस्टे«लिया, जापान पठाइदिन्छु भनेर उतै बसेको मानिसले नेपालमा एजेण्टमार्फत पैसा लिएर ठग्ने गरेको पाइएको बताए।

वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेपछि मोरङ प्रशासनले सरकारद्वारा मान्यताप्राप्त म्यानपावरबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। म्यानपावर र वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

सम्बन्धित समाचार