सुर्खेत । असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्यमात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल नौ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ हुने दुई सय ७६ हेक्टरमा शतप्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
जुम्लामा दुई हजार नौ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकामा हालसम्म दुई हजार छ सय ५५ .९० प्रतिशत) हेक्टर जमीनमा रोपाइँ भएको निर्देशक रोकायले बताए । जुम्लामा कूल खेतीयोग्य जमिन ३९ हजार चार सय ८६ हेक्टर रहेको छ । हुम्लाको कूल १२ हजार छ सय ५४ हेक्टर खेतीयोग्य जमिनमा एक हजार दुई सय ८४ हेक्टरमा रोपाइँ हुँदै आएकामा अहिलेसम्म आठ सय ३४ हेक्टर (६५ प्रतिशत) जमीनमा रोपाइँ भएको जनाइएको छ ।
उनका अनुसार रुकुमपश्चिमको कूल खेतीयोग्य जमिन २३ हजार एक सय ७२ मा धान रोपाइँ हुने तीन हजार ४८ हेक्टर क्षेत्रफल जमिन छ । त्यसमा हिजोसम्म एक हजार तीन सय ११ (४३ प्रतिशत) हेक्टर जमिनमा रोपाइँ भएको छ । सुर्खेतको १५ हजार दुई ४० हेक्टर धान रोपाइँ हुने जमिनमा पाँच हजार तीन सय ३४ (३५ प्रतिशत) हेक्टर जमिनमा धान रोपाइँ भएको उनले बताए । सुर्खेतको कूल खेतीयोग्य जमिन ५५ हजार दुई सय हेक्टर रहेको छ ।
कर्णाली प्रदेशको सबैभन्दा कम रोपाइँ दैलेखमा भएको निर्देशनालयले जनाएको छ । दैलेखमा असार १७ गतेसम्म मात्र २५ प्रतिशत रोपाइँ भएको छ । कूल खेतीयोग्य ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल भएको दैलेखमा आठ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुन्छ । आइतबारसम्म दुई हजार एक सय २८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जनाइएको छ ।
निर्देशक रोकायका अनुसार डोल्पामा थोरै खेतीयोग्य जमिन र त्यसमा धान रोपाइँ हुने क्षेत्रफल नै कमी भएकाले शतप्रतिशत रोपाइँ भएको तर दैलेखका कतिपय ठाउँमा मूल फुटेपछि मात्र रोपाइँ हुने भएकाले कम प्रतिशत देखिएको हो । असार मसान्तसम्म सम्भवतः कर्णालीमा ६० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।