खोलामाथि बसेको बस्ती : नगरपालिकामा बन्द, महानगरमा खुला

17.7k Shares

काठमाडौँ - समान हैसियतका सरकार र सङ्घीय सरकारका निकायबिच समन्वय नहुँदा विकास निर्माणमा कस्तो असर पर्छ भन्ने उदाहरण काठमाडौँ जिल्लाको यज्ञमती र चखुँचाखोलाको लथालिङ्ग चालाले देखाएको छ । सङ्घीय राजधानीको काठमाडौँ जिल्लाभित्रका दुई स्थानीय तहबिच जुँघाको लडाइँ हुँदा यज्ञमती र चखुँचाखोला एकातिर खोलिँदै छन् भने अर्कातिर पुरिँदै छन् ।

भूमाफियाले अतिक्रमण गरेर बस्ती विस्तार गरेको यज्ञमती र चखुँचाखोलामा बुढानीलकण्ठ नगरपालिकातर्फ खोलालाई थुन्ने गरी फेरि पक्की बक्स कल्भर्ट बनाउने कार्य तीव्र पारिएको छ । तर काठमाडौँ महानगरपालिकातर्फ भने गत साउनमा खोलिएको खोला खुला आकाशमुनि नै बग्दै छ । 

स्थानीय सरकारबिचको समन्वयको अभावमा काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलामा बुढानीलकण्ठतर्फ एक हजार ३६५ मिटरको कल्भर्ट निर्माण भइरहेको छ ।

स्थानीयको विरोध हुँदाहुँदै सङ्घीय सरकारको सहरी विकास मन्त्रालय मातहतको काठमाडौँ उपत्यका विकास प्राधिकरणले खोलामा पक्की कल्भर्ट निर्माण गरेको हो । ठेकेदार कम्पनी हाई हिमालय जेभीले करिब ९५० मिटर कल्भर्ट निर्माण गरिसकेको छ । कपन क्षेत्रमा डुबानको प्रताडना बेहोरिरहेका स्थानीयवासी कल्भर्ट निर्माणसँगै अर्को जोखिममा पार्ने गरी यज्ञमती र चखुँचाखोला पुगेर कल्भर्ट बनाइएको छ । 

बुढानीलकण्ठतर्फ आनीगुम्बादेखि यज्ञमती र चखुँचाखोलाको सङ्गमस्थल मिलनचोकसम्म कल्भर्ट निर्माण भइरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोलासम्मै कल्भर्ट निर्माण ठेक्का लिएको थियो । तर काठमाडौँ महानगरपालिकाले साउन २६ गते धोबीखोलादेखि मिलनचोकसम्म चखुँचाखोला पुरानै स्वरूपमा फर्काउन खुला गरिएको थियो । 

काठमाडौँ महानगर–६ का वडाध्यक्ष भुवन लामाले चखुँचाखोला पुरेर राखिएका ह्युमपाइप हटाएर खोलाकै स्वरूप दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चखुँचाखोला पुर्ने काम गलत थियो, त्यसैले हामीले खोलालाई पुरानै स्वरूपमा फर्काएका हौँ, पानीको स्रोत र प्रकृतिमाथि गम्भीर खेलवाड गर्नु हुँदैन भनेर नै खोला कायम गरिएको हो ।” बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थाले पनि प्राधिकरणले कल्भर्ट निर्माण नरोकेपछि बुढानीलकण्ठ–१०, ११ र १२ मा खोला पुर्ने कार्य चलिरहेको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यज्ञमती र चखुँचाखोलामा कल्भर्ट बनाउनु अहिलेको बाध्यता रहेको दाबी गर्नुभयो । तस्वीरसहित आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार