काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको संख्या घट्दै गए पनि रेमिट्यान्स आप्रवाहमा भने वृद्धि हुन थालेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ४ लाख ५ हजार ५ सय ५२ जना वैदेशिक रोजगारीमा पुगेका छन् । गत वर्षको सोही अवधिमा ४ लाख ८२ हजार ४ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए ।
वैदैशिक रोजगारीमा जाने श्रमिकहरूबाट गत वर्ष ७ महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएकामा यस वर्ष भने ७ महिनाको अवधिमा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव १ प्रतिशतले बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवमा श्रम स्वीकृति लिएर जाने नयाँ नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ ३ लाख १४ हजार ७ सय ६७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।
नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशन गरेको तथ्यांकनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव शून्य १ प्रतिशत रहेको छ । मुद्रास्फीतिबराबर मूल्यवृद्धि हुने गर्छ ।
७ महिनामा आयात २ दशमलव ३ प्रतिशत, निर्यात ७ दशमलव १ प्रतिशत र कुल वस्तु व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहेको पनि उल्लेख गरिएको छ । आजको राजधानीदैनिक बाट