रोजगारदाता कम्पनीका कामदारको मृत्यु, काम ठप्प

15.9k Shares

काठमाडौं । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो ।

साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल र प्यारा सिटामोल मात्र दिने गरेको कारण उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत गोविन्द घिमिरेले बताए ।

‘ऊ एक महिनादेखि बिरामी परेको थियो, क्याम्पको बोसलाई भन्दा अस्पताल जानु भन्छ, अस्पताल जाँदा सिटामोल मात्र दिने गरेको थियो,’ घमिरेले राजधानीसँग भने, ‘त्यो भाइ बिरामी परेर दुब्लाउँदै गयो । हामीले पनि उसलाई नेपाल पठाउन आग्रह ग¥यौं । तर, कम्पनीले सुनेन, एचआरसँग हारगुहार गर्दा पनि ५ हजार साउदी रियाल फाइन दिए मात्र घर पठाउने भन्यो ।’

त्यसपछि उनको रोग पनि बढ्दै गयो र कम्पनीको चरम लापर्बाहीले गर्दा उनले संसार छाडे । कम्पनीको लापर्बाहीले उनको मृत्यु भएपछि त्यस कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपालीले कम्पनीविरुद्ध आन्दोलन गरेर काम ठप्प परेका छन् ।

बिरामी हुँदा पनि कम्पनीले उपचार गर्न आनाकानी गरेको, कम्पनीको बासस्थान पनि राम्रो नभएको र पिउने पानी पनि पिउनयोग्य नरहेको कारण धेरै नेपाली कामदार बिरामी परेको भन्दै आन्दोलित भएका हुन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार