म्याग्दी– म्याग्दीमा स्थापना भएको ‘भलिबल अक्षयकोष’मा प्रवासी म्याग्देलीबाट ४६ लाख ५१ हजार सहयोग प्राप्त भएको छ। म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा जिल्ला भलिबल सङ्घको अक्षयकोषमा सो रकम जम्मा भएको हो।
मोना बेलायतका अध्यक्ष कुमार फगामीले बेनीमा आयोजित कार्यक्रममा उक्त रकम सांसद खमबहादुर गर्बुजामार्फत् सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँलाई हस्तान्तरण गरे।
यसैगरी मोना कुवेतका प्रतिनिधि चन्द्र गोतामेले संस्थाको तर्फबाट ५० हजार हस्तान्तरण गरे। संस्थागत रुपमा पाँच लाख सहयोग गरेको मोना बेलायतले ८३ दातामार्फत् थप ३८ लाख ६१ हजार सहयोग गरेको अध्यक्ष बानियाँले जानकारी दिए।
कोषका लागि भलिबल सङ्घका पदाधिकारी र सदस्यले एक लाख तथा जापानमा व्यवसाय गर्ने मोना अन्तर्राष्ट्रियका अध्यक्ष दधीवल खड्काले एक लाख सहयोग गरेका छन्।