काठमाडौँ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा हरेक वर्ष हुने ‘कर्णाली उत्सव’को पाँचौँ संस्करण भोलि शनिवारदेखि सुरु हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था ऋति फाउण्डेसनले जानकारी दिएको छ । ‘कुडा कर्नालीका’ नारा दिई सञ्चालन गर्ने गरिएको उक्त बहस कार्यक्रम शनिबार, आइतबार र सोमबार गरी तीन दिन चल्ने छ ।
कार्यक्रममा विशेषगरी कर्णाली र राष्ट्रिय स्तरका बहस तथा मन्थन हुने उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए । उनका अनुसार यो वर्ष १४ वटा सत्र, ३ विद्धत प्रवचन, ३ पैकलो र ३ वटै सांगीतिक/साहित्यिक साँझ रहने छन् । डा. सुधा शर्माको विद्धत प्रवचन, इतिहासकार प्रा.डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको अ जर्नी फ्रम जर्जी टु कर्णालीको विद्धत प्रवचन रहेका छन् । आयोजकले यो उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको उत्सवका रुपमा लिने गरेको छ ।