काठमाडौं । बाराबाट कवाडीको व्यापक तस्करी शुरू भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेटिङ र संरक्षणमा कवाडीको व्यापक तस्करी भैरहेको छ । पर्साबाट रोकिएको कवाडीको तस्करी अहिले बाराबाट व्यापक मात्रामा भैरहेको छ ।
बिश्रामपुर गाउँपालिका ४ र बलिरामपुर गाउँपालिका ४ मा गोदाम राखेर कवाडीको तस्करी भैरहेको छ । सीमावर्ती दशगजा भित्रै गोदाम राखेर अहिले कवाडीको तस्करी भैरहेको स्थानीयले जानकारी दिएका छन् । कवाडीको क्यारिङको काम डाक्टर खान, बिजय यादव, नगेन्द्र पटेलको एउटा समूहले गरिरहेका छन् भने अर्को क्यारिङको काम सन्दिप समूहले गरिरहेको छ ।
क्यारिङ गर्नेहरूले सशस्त्र प्रहरीको गणलाई ८ लाख , जिल्ला प्रहरी कार्यालयलाई ८ लाख ६० हजार, नेपाल प्रहरीको प्रदेश टोलीलाई ३ लाख, डिआइजीको नाममा ५ लाखको रकमको भाग छुट्टाएर कवाडीको तस्करी भैरहेको छ । कवाडीको क्यारिङ गर्नेले भारतीय सुरक्षा बल एसएसबीलाई समेत रकम दिएर तस्करी चलिरहेको स्थानीय बताउँछन् । राति ११ बजेदेखि बिहान ५ बजे बिहानसम्म कवाडीको तस्करी भैरहेको छ ।
स्थानीयहरूका अनुसार प्रत्येक रात १४० वटा ठेलामा कवाडीको तस्करी हँुदै आएको छ । एउटा ठेलामा ८ सयदेखि १ हजार किलो सम्म कवाडीको सामान हुने गर्दछ । क्यारिङ गर्नेले प्रति केजी १२ रूपैयाँ लिने गर्दछ भने एउटा ठेलाले प्रति केजी ३ रूपैयांका दरले रकम लिने गर्दछ । जबकि क्यारिङ खर्च केवल ६ रूपैयाँ मात्रै हुन्छ । प्रति केजी ६ रूपैयाँ क्यारिङ गर्नेले नाफा राखेको हुन्छ । क्यारिङ गर्नेले प्रति महिना दुई करोड ५२ लाख रूपैयाँ कमाउने गर्छ । कवाडीका सामानहरूमा स्टिल , व्याट्री , तामा , पित्तल , प्लास्टिक लगायतका सामान हुन्छन् । कवाडीको तस्करी गरेबापत एक महिनामा २ करोड ५० लाख कमाउने भए पछि दुबै प्रहरीलाई मासिक ८ लाख दिने कुरा गा¥हो पनि भएन । यो तस्करीलाई स्थानीय सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दीपक थापाको साथ र सहयोग रहेको स्थानीय बासिन्दा बताउँछन् । क्यारिङ गर्नेहरूले उक्त बिओपीलाई छुट्टै भाग बुझाउने गरेको समेत थाहा भएको छ ।