काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित गर्दै सांगठानिक अराजकता देखिएको स्वीकार गरेका हुन् ।
‘एक ठाउँमा समाधान गर्यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ । पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका सन्दर्भमा नेताहरूलाई अध्यक्ष स्वयंले १० घण्टा राखेर सम्झाउनुपर्छ, जिल्ला अधिवेशन सुचारु गर्न राति १ बजेसम्म छलफल गर्नुपर्छ, ‘सर्वसम्मत गर्यौँ’ भनेका जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आइपुग्छ र केन्द्रीय सङ्गठन विभागले हात हाल्नुपर्छ’, नेता रिजालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।