खेलाडीको मिहिनेतलाई राज्यले कदर गर्नुपर्छ

18.8k Shares

तेक्वान्दो खेल्न सुरु गरेको तीन वर्षमै सक्षम कार्कीले राष्ट्रिय टोलीमा स्थान पक्का गरेपछि पछि फर्केर हेर्नु परेको छैन । सन् २०१३ मा नै राष्ट्रिय टोलीमा छनौट भएका सक्षम तेक्वान्दोमा अनुभवी खेलाडी मानिन्छन् । खोजतलास साप्ताहिकको टोली खेलवार्ताका लागि कोटेश्वर डोजाङमा पुग्दा सागका तीन स्वर्णधारी खेलाडीसहित नव प्रवेशीलाई सिकाउँदै थिए उनी । खेल जीवनमा पटक पटक घाइते भए पनि हरेस भने उनले कहिल्यै खाएनन् । वार्ताका क्रममा उनले हात, पिँढुला तथा पेटमा सर्जरी गरिसकेको खाटा बसेको घाउ देखाउँदै थिए । नेपालले साग खेलकुदको इतिहासमा सयौं स्वर्ण पदक जित्दा त्यो सय स्वर्ण सक्षमको नाममा लेखिएको थियो ।
कोटेश्वरका २४ वर्षीय सक्षमलाई बाल्यकालमा तेक्वान्दो खेल रमाइलो लाग्थ्यो । घरनजिकै ब्याडमिन्टन कोर्ट थियो । त्यहाँ सेतो ड्रेसमा सानादेखि ठूलासम्मले किक हानिरहेको देख्दा उनलाई चाख लाग्दो रहेछ । बच्चा तथा आफूभन्दा ठूलाहरूले किक हानेर कराइरहेका देख्दा सक्षमलाई पनि लाग्दो रहेछ म पनि हान्न सक्छु कि क्या हो 
Û
उनलाई सानोमा तेक्वान्दो खेल्न मन लागे पनि चोटपटक लाग्छ भनेर बुवाले खेल्न दिएका रहेनछन् । ‘इन्जुरी हुन्छ बाबाले खेलाउनु भएन । उमेर बढ्दै गएपछि सक्षमलाई ममीले खेल्दा हुन्छ भन्नुभयो’ शुरूआती सिकाइका दिनबारे सक्षमले भने, ‘फिटनेस नि हुन्छ, उमेर नि बढ्यो । अब खेल्दा हुन्छ भनेर म १४ वर्षको हुँदा ममीले कोटेश्वर तेक्वान्दो डोजाङमा भर्ना गरिदिनुभयो ।’
तेक्वान्दो सुरू गरेपछि गुरूहरूले आफूलाई प्रोत्साहन गर्न थालेको उनी सम्झन्छन् । हात भाँच्चिएर शल्यक्रियापछि घरमा आराम गरिरहेका उनी सागको दोस्रो चरणको सेलेक्सनबाट छनोट भएका हुन् ।
सक्षमले तेक्वान्दोमा गोल्ड मेडल ल्याउनेमा गुरु तथा तेक्वान्दो संघ पनि आशावादी थियो । उनले स्वर्ण पदक पनि जिते ।
सक्षमले जितेको यो गोल्ड नेपालको साग इतिहासको १०० औं गोल्ड मेडल हो ।
सयौं गोल्डको इतिहासमा मेरो नाम पनि रह्यो भन्ने उनलाई लाग्यो । सक्षमले १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ मा ८७ केजी तौल समूहमाथिको तेक्वान्दोमा पाकिस्तानी खेलाडी वाकर अली शाहलाई २७–२९ को स्कोरमा हराएका थिए ।
१३ औं सागमा स्वर्ण पदक नै ल्याउछु भनेर आशा गरेको थिए उनले । अन्तर्राष्ट्रिय खेलाडी रञ्जन श्रेष्ठ, सागकै स्वर्णधारी अशोक लामा तथा तेक्वान्दोका मुख्य प्रशिक्षण नवीनकुमार श्रेष्ठको प्रशिक्षणले सागमा स्वर्णको यात्रा जुराएको हो उनलाई । नवीन गुरुको प्रशिक्षण पाएका कोटेश्वर डोजाङका ५ जना खेलाडी सागमा सहभागी भएकोमा ३ जनाले स्वर्ण पदक र २ जनाले रजत पदक जिते । डोजाङमा ६ जना जुनियर तहका राष्ट्रिय खेलाडी छन् ।
नेपाली सेनाको विभागीय खेलाडी खेलाडी सक्षम कोटेश्वर कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् । परिवारको कान्छो सन्तान उनी पढाइमा अब्बल भने होइनन् । दिदीको पढाई राम्रो भएकाले उनी अस्ट्रेलिया गइसकेकी छन् ।
सक्षमले शुरूआती दिनमा तेक्वान्दो मेडलका लागि भन्दा पनि रमाइलोको लागि खेले । तर अहिले तेक्वान्दोबाटै ‘नेम र फेम’ दुवै पाएका छन् ।
सक्षमको घरको वातावरण खेलमय छ । उनका बाबु तेक्वान्दो खेलाडी हुन भने आमा एथलेटिक्स खेलाडी । सक्षमका बाबु भैरबकुमार कार्की तेक्वान्दोकै खेलाडी थिए भने आमा देवु कुमारी मल्ल कार्की एथलेटिक्सकी राष्ट्रिय खेलाडी । नवीन गुरु बाबुको साथी भएर कोटेश्र डोजाङमा आएर खेल्न थालेका हुन् उनले । सुरुवाति चरणमै राष्ट्रिय स्तरका खेलाडीसँगै बसेर प्रशिक्षण गर्न पाएका उनको भविष्यको योजना प्रशिक्षक बन्ने छ । १३ औं सागमा स्वर्ण पदक दिलाएपछि विभागीय खेलाडी सक्षमलाई नेपाली सेनाले व्याच, एक लाख ५० हजार नगद तथा आफू कार्यरत श्री नं ३ राजदल खैरेनीटारबाट सम्मान पाउँदा खुसी छन् । ‘सागमा स्वर्ण पदक जितेपछि राम्रो भएको छ । मेरो जीवन शैलीमा पनि परिवर्तन भएको छ’ उनले स्वर्ण पछिको अवस्थाबारे व्याख्या गर्दै भने, ‘स्वर्ण पदक जितेपछि राज्यले ९ लाख रुपैयाँ उपलव्ध गरायो भने भर्खरै नेपाली कांग्रेसले स्वर्णधारी खेलाडीलाई नगदसहित सम्मान गरेको छ । खेलकुद परिषद्ले साउन देखि मासिक ५ हजार भत्ता उपलव्ध गराउने भनेको छ ।’

लकडाउन अन्त्य भएपछि अहिले तालिम सुरु गरेका छौं उनले भने, ‘एसियाली तथा ओलम्पिक प्रतियोगितालाई हेरेर अहिलेदेखि नै तयारी गर्न पाए पदक आशा गर्न सकिन्छ ।’
लकडाउनमा खेल्न नपाउँदा हेभीवेटलाई चाहिने तौल पुगेको छ उनले भने खेल्ने क्रम छुट्दा पहिला २ घण्टा मज्जाले प्रशिक्षण गर्न सक्ने मेरो स्टामिना अहिले घटेको छ । १ घन्टा मज्जाले फुटसल खेल्ने म अहिले ६–७ मिनेट भन्दा बढी खेल्न सक्दिन । प्रशिक्षण खेलाडी आफैंले मात्र गर्न सक्दैनन् । गुरुहरूको निगरानी चाहिन्छ ।’
खेलाडीलाई राष्ट्रको गहना भन्ने गरिए पनि व्यवहारमा नदेखिँदा उनलाई खिन्न लाग्छ । भन्छन्, ‘पदकधारी खेलाडीलाई राज्यले प्रोत्साहन–सम्मान गर्नुपर्छ ।’
एउटा घटना सम्झन्छन् उनी । ‘पोखराको साराङकोटमा प्याराग्लाइडिङ गर्न जाँदा एसियन गेममा प्याराग्लाइडिङमा रजत पदक जितेका खेलाडीलाई सामान्य नागरिक सरहको जीवन जिएको देख्दा मन खिन्न भयो’, उनले भने, ‘राज्यले खेलाडीको मेहनतको कदर गर्नुपर्छ । पदकले महत्व पाए जस्तो लागेन ।’
विधान लामा, सविता राजभण्डारीको पदक ल्याउँदा उहाँहरूको जय जयकार भएको थियो अहिले कहाँ हुनुहुन्छ उनले भने, ‘त्यसैले राज्य वा खेल पदाधिकारीले खेलाडीलाई पर्याप्त ध्यान दिनुपर्छ । चासो व्यक्त गर्नुपर्छ ।’

सम्बन्धित समाचार