कोशी प्रदेशः पहिचान पक्षधर वार्ताका लागि सकारात्मक

17.2k Shares

काठमाडौं । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आएको पहिचानवादी पक्षले प्रदेश सरकारले अघि बढाएको वार्ताको सन्दर्भ सकारात्मक भएको जनाएको छ।पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले वार्ताका लागि प्रदेश सरकारले अघि बढाएको कदम सराहनीय भएको बताएका छन्।

उनले भने, ‘सरकारले अघि बढाएको सन्दर्भ सकारात्मक छ। तर यो सपनाको बाघजस्तो नहोस्। वार्ताको लागि हामीले तयार गर्नुपर्ने हुन्छ। हाम्रा मागहरु कति सुनुवाइ हुन्छन्, त्यसपछि हामी निर्णयमा पुग्नेछौँ। ’प्रदेश सरकारले वार्ता समिति बनाएर पहिचानवादी पक्षलाई आह्वान गरेको औपचारिकपत्र भने पाइनसकेको उनको भनाइ छ। उनले भने, ‘हामीले विभिन्न सञ्चारमाध्यमहरुबाट वार्ता समिति बनेको र आह्वान गर्ने भन्ने जानकारी पाएका छौँ। तर, त्यसका लागि सरकारले हामीलाई वार्ता गर्ने औपचारिक पत्र भने पठाएको छैन। त्यो नपाउञ्जेल हामी वार्तामा बस्ने छैनौँ।’

पहिचानवादी पक्षले फागुन १७ गतेलाई कालो दिनको रुपमा मनाउने जनाएको छ। सो दिन पहिचानवादी पक्षले प्रदेशभर आम हड्ताल गर्ने घोषणा गरेको छ। पहिचानवादीले आन्दोलनलाई थप सशक्त बनाउन जिल्लाभर जनजागरण अभियानअन्तर्गत माघ १३ गते प्रदेशको सबै जिल्लामा प्रशिक्षण, भेला आयोजना गर्नेछ।

सम्बन्धित समाचार