काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यले आज मुसहर बस्तीमा पुगेका हुन् ।प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो । पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए । बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए । बस्तीमा एक घण्टा बिताएका उनीहरूले चिया समेत पिएका थिए ।पूर्वराजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए ।सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन गरिएको थियो । पूर्वराजाले दिवाभोजनका लागि बनाइएको परिकार समेत हेर्न भ्याएका थिए । उनले बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए ।
पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुसी देखिन्थे । एक साता अघि सिमरा आएका पूर्व राजा ज्ञानेन्द्र शाहले केही दिनअघि पर्सा राष्ट्रिय निकुञ्जको सफारी गरेका थिए ।