दरबन्दी एकातिर , घुमुवा भएर अर्कोतिर

13.3k Shares

कपिलवस्तु । प्रहरी प्रधान कार्यालयले हालै एक परिपत्र देशव्यापी रूपमा पठाएको छ । उक्त परिपत्रमा अबिलम्ब भन्ने शव्द प्राथमिकताका साथ उल्लेख गरिएको छ । उक्त परिपत्र हो , जुन दर्जाको भए पनि हेडक्वाटरको आदेश बिना दरबन्दीमा नगई अन्यत्र कार्यरतहरू तुरुन्त दरबन्दीमा हाजिर हुन जानू। मानवस्रोत बिभागका एआइजी दानबहादुर कार्कीको आदेशमा उक्त परिपत्र गरिएको हो । 

दरबन्दी पठाउने अभियान यसअघिका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले चलाएका थिए । कुंवरले मधेस प्रदेशको डिआइजी भए देखि नै दरबन्दी पठाउने अभियानलाई उच्च प्राथमिकतामा राखेका थिए । प्रहरी महानिरीक्षक भए पछि पनि उनले यो अभियानलाई निरन्तरता दिएका थिए । तर राजनीतिक संरक्षण र प्रहरी संगठन भित्रमा केही उच्च अधिकारीले कुंवरको यो अभियानलाई पूर्ण रूपमा सफल हुन भने दिएनन् । अहिले आएर एआइजी दानबहादुर कार्कीले मुख्यालयबाट परिपत्र त गराए तर सफल हुने कुरामा भने धेरैलाई बिश्वास छैन । कारण के हो भने डिआइजी हुदा उनले लुम्बिनी प्रदेशमा संरक्षण गरेका बदनाम घुमुवाहरू नै अहिले यो परिपत्र पछि पनि दरबन्दीमा गएका छैनन् । उल्टो घुमुवाको रूपमा नै अहिले पनि परिचालित छन् । हिजोको दिन आंफैले संरक्षण गरेका ती घुमुवालाई उनले दरबन्दीमा पठाउन सक्लान् त ? प्रश्न यो हो । 

कपिलवस्तु जिल्लामा एउटा इलाका प्रहरी कार्यालय पकडी भन्ने छ । अहिले यो इलाका प्रहरी कार्यालयको प्रमुखमा प्रहरी निरीक्षक कमल क्षेत्री रहेका छन् । यही इप्रकामा निरीक्षक कमल क्षेत्रीले दुई जना घुमुवा परिचालन गरेका छन् । ती दुई घुमुवा हुन् , प्रहरी हवल्दार संजय बरै र सहायक हवल्दार राकेश सक्सेना । यी घुमुवा मध्ये हवल्दार संजयको दरबन्दी बुटवल तालिम केन्द्र हो भने सहायक हवल्दार राकेशको दरबन्दी भैरहवा स्थित संघीय व्यरोमा हो । तर यी दुबै जना दरबन्दीमा नगई र हाकिमले नपठाएको कारण पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल क्षेत्रीका घुमुवाको रूपमा परिचालित छन् । 

यस इलाका प्रहरी कार्यालय मातहत चाकरचौडा , हतिया दोहनी , गुलदी बिजुवा लगायतका चारवटा नाका पर्दछन् । यी नाकाहरू तस्करीका लागि चर्चित छन् । यी नाकाबाट दैनिक लाखौं रूपैयाँको राजश्व छलि गरेर तस्करी धन्दा चल्दै आएको छ । अहिले यी नाकाबाट साकिल मुसलमानले कपडा , अशोक जैसवालले गल्ला , राजेश , रितेश र दिनेशले चिनी र अभय तथा बिनोद मोवाइलको तस्करीको लाइन पाएका छन् । यिनीहरूको यो तस्करी धन्दामा सशस्त्र प्रहरीको पनि संरक्षण र सेटिङ रहेको छ । यी कारोबारीहरूले दैनिक लाखौं लाखको सामानको धन्दा गर्दै आइरहेका छन् । 

यसका अलावा उपत्यका महाराजगन्ज स्थित तत्कालीन दुई नम्बर गणमा दरबन्दी भएका अर्को हवल्दार दिपेन्द्र यादव पनि दरबन्दीमा नगई इप्रका पकडी मातहतको प्रहरी चौकी बक्दीमा घुमुवाको रूपमा कार्यरत छन् । असई प्रमुख रहने उक्त चौकीबाट यादव घुमुवाको रूपमा परिचालित छन् । दानबहादुर कार्की लुम्बिनी प्रदेशको डिआइजी हुदां उनले परिचालन गरेको असई श्याम चौधरीको घुमुवा टोलीमा हवल्दार दिपेन्द्र यादव पनि परिचालित थिए । पकडी इप्रका र मातहतको बक्दी चौकीबाट परिचालित यी तिनै जना घुमुवा असई श्याम चौधरीको कमान्डमा खटिएको कार्कीको घुमुवा टोलीबाट परिचालित थिए । अब मानवस्रोत बिभागको एआइजी भएका कार्कीले सरूवा गर्दा यिनीहरूको दरबन्दी कपिलवस्तु नै पार्छन् या अहिले नै दरबन्दीमा पठाउन ताकेता दिन्छन् त्यो भने हेर्न बांकी नै छ।

सम्बन्धित समाचार