बाँके– बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका– ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार अन्यलाई पाँचवटा एम्बुलेन्समा शिक्षण अस्पताल लगिएको थियो ।