मदन पुरस्कार विजेता पूर्वडीआईजी शाहलाई ३ वर्ष जेल सजाय

14.8k Shares

काठमाडौं - विशेष अदालत काठमाडौंले मदन पुरस्कार विजेता नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहलाई ३ वर्षको जेल सजाय सुनाएको छ । 

रकम हिनामिना मुद्दामा दोषी ठहर्याउँदै उनलाई ३ वर्षको जेल सजायसँगै १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा जरिवानासमेत तोकिएको अदालत स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । 

पूर्वडीआईजी शाहसँगै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरूलाई पनि अदालतले समान सजाय सुनाएको छ ।

लेखा सहायक पूर्वहवल्दार केशवसिंह ऐरी र कोलेनिका लेखापाल सञ्जीव बिशुंखेले भने सफाइ पाएका छन् । शाहलगायतलाई मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुरमा कार्यरत रहँदा भ्रष्टाचारको आरोप लागेको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वडीआईजी शाह लेखकसमेत हुन् । कथासंग्रह ‘छापामारको छोरो’का लागि उनले २०६३ सालमा मदन पुरस्कार पाएका थिए ।

सम्बन्धित समाचार