काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र केन्द्र दुधौली तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको पुस ११ गते, बुधबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। दोषी ठहर भए पनि उनीहरुको हकमा सजाय निर्धाणरण गर्न भने बाँकी छ। उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् ।
इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।उनीहरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने भएको छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ ।अख्तियारले २० फागुन २०७६ मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।
२०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको नया भर्ना सुरु भएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।१०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरुमाथि थियो ।अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सञ्जिव विशंखेले लेखा परीक्षणका क्रममा त्रुटी लुकाएको भन्दै उनीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो ।२०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । शाहकै नेतृत्वमा तलबभत्ता तलबी भर्पाइमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाएको दाबी अख्तियारको अभियोगपत्रमा गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाह लेखक समेत हुन्। शाहले २०६३ सालमा प्रकाशित आफ्नो कथासंग्रह ‘छापामारको छोरो’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए।