राजविराज । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुंवरले मातहतका जिल्ला, संघीय र प्रदेश प्रमुखहरूलाई बारम्बार निर्देशन दिएको सुनिन्छ कि काजमा बसेकाहरूलाई तुरुन्त दरबन्दीमा पठाउनु । त्यतिमात्र होइन कि प्रहरी मुख्यालयले बारम्बार लिखित पत्र पठाएर काजमा नराख्न र दरबन्दीमा पठाउन आदेश गरिएको छ भनेर । तर विडम्बना संगठन प्रमुखको आदेश र प्रहरी मुख्यालयको लिखित पत्रलाई मातहतका कार्यालय प्रमुखहरूले रद्दीको टोकरीमा मिल्काएका छन् । कार्यान्वयन गरेका छैनन् बरू दरबन्दी नभएर काजमा बसेकाहरूलाई सीमावर्ती थाना चौकीमा बोलकबोल टेण्डर हालेर पठाउने र टेण्डर हालेर गएका उनीहरूले खुलेयाम तस्करी गराएर लुटतन्त्र मच्चाउने काम गरिरहेका छन् ।
सप्तरी जिल्ला प्रहरी कार्यालयमा पनि यस्तै भएको छ । सरूवा दरबन्दीमा नगएर यहाँ बसेर टेण्डर हालेर तस्करी हुने नाकाका चौकीका गएर खुलेयाम तस्करी गर्ने काम यहाँ भैरहेको छ । धनुषाको महेन्द्रनगर दरबन्दी भएका बरिष्ठ सई अवधलाल साह अहिले तस्करीको अखडा मानिने सीमावर्ती चौकी झुड्कीको प्रमुख छन् । उनलाई दरबन्दीमा पठाएर एसपी गज्जुसिद्दी बज्राचार्य र डिएसपी ढुण्डी राज न्यौपानेले संरक्षण गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयको प्रशासन हेर्ने डिएसपी ढुण्डी राज न्यौपाने हुन । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी दरबन्दी भएका अर्का सई शिव कुमार शर्मालाई दरबन्दीमा नपठाएर अर्को तस्करीको नाका प्रहरी चौकी पातो पठाएको छ । पातो नाका सप्तरीको तस्करी हुने नाकाहरू मध्ये अग्रपंक्तिमा पर्दछ । दरबन्दी नभएमा उनीहरू टेण्डर हालेर तस्करी हुने सीमावर्ती चौकी गएको र त्यही भएर पनि एसपी र डिएसपीले उनीहरूलाई दरबन्दीमा नपाएको थाहा भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले काजमा भएकालाई दरबन्दीमा पठाउन बारम्बार ताकेता गरेपनि अझै रमाना गरिएको छैन । एसपी र डिएसपीले नै उनीहरूलाई रमाना नदिएर संरक्षण गरेको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ ।
रौतहटमा पनि यस्तै
प्रहरी महानिरीक्षक र प्रहरी मुख्यालयको नीति र आदेश बिपरित काजमा बस्नेको संख्या रौतहटमा झण्डै दुई दर्जन भन्दा बढी रहेको छ । यसरी बस्नेहरूका काठमाडौ दरबन्दी भएका बरिष्ठ सई सत्यनारायण घिमिरे, ढल्केवर धनुषा गण दरबन्दी भएका वरिष्ठ सई प्रभानन्द यादव, नागेन्द्र ठाकुर, बिरगंज, सिराहा, सिन्धुपाल्चोक दरबन्दी भएका असईहरू प्रभु साह, दिपेन्द्र साह, गोपाल कुमार श्रेष्ठ, भक्तपुर, काठमाडौ, सोलु, नुवाकोट ताप्लेजुङ, मकवानपुर, धनकुटा, काभ्रे, संखुवासभा, रामेछाप, सप्तरी, सिराहा दरबन्दी भएकाहरू गजेन्द्र प्रसाद, गोपी क्षेत्री, दामोदर सिंह, दुर्गा कार्की नवीन कापर, राम दिनेश ठाकुर, रामनरेश कुशवाहा, हरि नारायण यादव, शिव कुमार, बिध्या बस्नेत, राजकिशोर साह, नरबहादुर घिसिङ , प्रकाश चौहान, प्रभु चौधरी, आनन्द राय, सन्जिव कुमार, सुरेश चौधरी, सन्तोष झा समेत रहेका छन । अन्य सिपाही, हवल्दार त थुप्रै छन् । रौतहटमा पनि काजमा बस्नेले नै टेण्डर हालेर थाना चौकी जाने गरिरहेका छन् ।