राप्रपा नेपालले ‘बृहत राष्ट्रिय मोर्चा’ निर्माणका लागि बनायो तीन सदस्यीय समिति

19.8k Shares

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले बृहत राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ। पार्टीका उपाध्यक्ष राजीव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन्।समितिले समान विचारधारा भएकाहरुसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ।

राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र र स्थानीय गरी दुई तहको राज्य संरचना र सरकारको विचार राख्ने दलहरुसँग सहकार्य गर्ने जनाएको छ।यस्तै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष तथा राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र उदार आर्थिक व्यवस्थाको मुद्दा पनि राप्रपाले अगाडि सारेको छ ।बृहत मोर्चा निर्माणसँगै पार्टीको तर्फबाट आन्दोलनको तयारी पनि गरिने राप्रपा नेपालले जनाएको छ।

आन्दोलनको तयारी स्वरुप मेची महाकाली जनजागरण यात्रा, युवादस्ताको तयारी, विभिन्न चरणमा प्रशिक्षण, प्रत्येक अंचलमा सभा तथा प्रदर्शन, जनताको माझमा राप्रपा नेपाल अभियान र राजधानी केन्द्रित प्रदर्शन गर्ने राप्रपाले नेपालले जनाएको छ।

 
सम्बन्धित समाचार