लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको काम गर्छौंः अर्थमन्त्री महत

16.7k Shares

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताएका छन्।
सोमवार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन्।उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियम परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए। उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलनअगावै परिवर्तन हुने उल्लेख गरे।अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भए पनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए।

उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए।अर्थमन्त्री महतले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताए। उनले वैदेशिक लगानीका लागि नेपाल सबैभन्दा उपयुक्त रहेको दाबी गरे। उनले नेपालमा जलविद्युत्, पर्यटन, सफ्टवेयरलगायत क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको बताए।

उनले लगानी भित्र्याउनको लागि सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए। उनले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए।

सम्बन्धित समाचार