जोगबनीमा घाइते भएका नेपाली युवक विराटनगरस्थित कोसी अस्पतालमा भर्ना

15.9k Shares

काठमाडौं- भारतको जोगबनीमा घाइते भएका एक नेपाली युवक विराटनगरस्थित कोसी अस्पताल उपचारका लागि भर्ना भएका छन्। कोसी अस्पताल विकास समितिका सदस्य हरि भट्टराईका अनुसार विराटनगर–८ का निर्दोष संग्रौला आइतबार बेलुका साढे ८ बजे उपचारका लागि भर्ना भएका हुन्।२७ वर्षीय घाइते संग्रौलाको दाहिने तिघ्रामा गोली जस्तो बस्तु देखिएको बताएका सदस्य भट्टराईले हाडजोर्नीको चिकित्सक टोलीले उनको उपचार गरिरहेको जानकारी दिए।

उनले भने, ‘आइतबार बेलुका साढे ८ बजे अस्पतालमा भर्ना गरिएका संग्रौलाको एक्स–रे रिपोर्टमा गोली देखिएको छ। आकस्मिक कक्षमा उपचार भइरहेको उनको चिकित्सकले बुधबार वा बिहीबार शल्यक्रिया गर्ने कुरा भएको छ।’अस्पतालका मेडिकल अफिसर तुलसी गोइतले घाइते संग्रौलाको एक्स–रे रिपोर्टमा गोलीजस्तो वस्तु देखिएको बताएका छन्। उनको तिघ्रामा चोट देखिएको गोइतले बताए। हाल संग्रौलाको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

विराटनगरबाट खाद्यान्न बस्तुखरिदका लागि भारतीय सीमा बजार जोगबनी जाने क्रममा उनीमाथि आक्रमण भएको संग्रौलाका आफन्तले बताएका छन्। ‘आइतबार साँझ किनमेल गरी फर्कने क्रममा केही भारतीय युवासँग भनाभन भएको र सोही क्रममा गोली प्रहार भएको रहेछ,’ ती आफन्तले भने।

सम्बन्धित समाचार