काठमाडौं । दोस्रो हाफमा मैदान प्रवेश गरेका रान्डाल कोलो मुएनीले अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि लिग वानको लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।
शनिबार घरेलु मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले नान्टेसविरुद्ध २–१ को जित निकालेको हो । खेलको ४१औं मिनेटमा ब्राड्ले बार्कोलाले गरेको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । तर, ५५औं मिनेटमा मोस्तफा मोहम्मेदले गोल गरेपछि पाहुना टिम खेलमा फर्किएको थियो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका मुएनीले ८३औं मिनेटमा गोल गर्दै पुनः घरेलु टिमलाई अग्रतामा राखेका थिए । मुएनीको यही गोल निर्णायक बन्दा पीएसजीले तीन अंक सुनिश्चित गरेको हो ।
जितसँगै पीएसजीले १५ खेलबाट ३६ अंक जोेडेको छ । जुन दोस्रो स्थानको मोनाकोभन्दा ६ अंक धेरै हो । मोनाकोले समान खेलबाट ३० अंक जोडेको छ । शनिबार नै भएको खेलमा मोनाकोले रेनेसलाई २–१ ले हराएको थियो ।