काठमाडौँ-नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए। अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्।
प्रहरीले चन्द्रागिरी नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८,९ जनालाई नियन्त्रणमा लिएको छ। अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको छ।शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका ३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३०८ नम्बरको गाडीले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको थियो।घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ। प्रहरीले यथाशिघ्र ठक्कर दिने ट्रकको सम्बन्धित समितिसँग छलफल गर्ने व्यवस्था मिलाउने भनेपछि स्थानीयले अवरोध खोलेका थिए।