बुटवल । नवलपरासीका नाकाहरू अहिले तस्करहरूको लागि स्वर्णद्वार मानिएका छन् । रामनगर, भुजहवा, गेर्मी, महेशपुर नाकाहरूबाट अहिले खुलेयाम तस्करी भैरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवा देखि इलाका प्रहरी कार्यालय बेलाटारीको घुमुवा हुदै स्थानीय चौकीमा कार्यरत प्रहरीको सेटिङ र संरक्षणमा राति मात्रै नभएर दिउँसो नै खुलेयाम तस्करी भैरहेको छ ।
त्यहांको तस्करीको बारेमा समाचार मात्रै होइन तस्करी भैरहेको भिडियोहरू समेत सार्वजनिक भइसकेको छ । यसैक्रममा गए राति रामनगर प्रहरी चौकी, बेलाटारीमा कार्यरत घुमुवा सहायक हवल्दार रमेश यादव र जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवाहरूको संरक्षण र सेटिङमा तस्करी भएको माछा रूपन्देही स्थित धकधईमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले बरामद गरेको छ ।
नवलपरासी जर्गाहा स्थित तालिम केन्द्रमा दरबन्दी भए पनि दरबन्दीमा नगएर इलाका प्रहरी कार्यालय बेलाटारीको घुमुवा बसिरहन सफल सहायक हवल्दार रमेश यादव विगत झन्डै ९ बर्षदेखि घुमुवाको रूपमा कार्यरत छन । केही दिन अघि मात्रै प्रहरी प्रधान कार्यालयले दरबन्दीमा पठाउन देशभर परिपत्र गरेपनि नवलपरासी प्रहरीले यी बदनाम घुमुवा रमेश यादवलाई अझै दरबन्दीमा पठाएको छैन । उल्टो बेलाटारीको घुमुवाको रूपमा कार्यरत राखिरहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका घुमुवा सहायक हवल्दार प्रदिप गुप्ताको दरबन्दी पनि यहाँ नभएर जिल्ला प्रहरी कार्यालय गुल्मी हो । उनलाई पनि दरबन्दीमा नपठाएर जिल्लाको घुमुवा बनाएर परिचालन गरिएको छ । संगठनको नीति बिपरित दरबन्दीमा नपठाई उल्टो घुमुवा बनाएर जिल्ला भर परिचालन गरिएको छ । उनीहरू तस्करी गराउने मात्रै अभियानमा देखिन्छन् ।
पक्राउ परेको माछा कपिलवस्तु घर भएका माछा कारोवारी जयनुलको भएको पक्राउ परेका गाडी चालकले बताएको रूपन्देही प्रहरीले जानकारी दिएको छ । जयनुल ठूलो माछा कारोवारी हुन र उनले पश्चिम नवलपरासीका विभिन्न नाका हुदै ठूलो मात्रामा माछाको तस्करी गर्दै आइरहेको समेत खुलेको छ । रामनगर नाकाबाट भित्रिएको माछा स्थानीय चौकी, बेलाटारी र जिल्ला प्रहरीका घुमुवाको संरक्षण, सेटिङ र स्कटिङमा रूपन्देही पुगेको समेत खुलेको छ । झण्डै १५ क्वीन्टल माछा बरामद भएको रूपन्देही प्रहरीले पुष्टि गरेको छ ।लु २ च ८५४६ नम्बरको बलेरो पिकअपमा रूपन्देही प्रहरीले उक्त माछा बरामद गरेको हो । प्रहरी महानिरीक्षक बसन्त कुंवर यतिबेला देश बाहिर छन् । निमित्तको जिम्मेवारी टेकप्रसाद राईले पाएका छन् । उनले दरबन्दी पठाउ अभियान कडाइका साथ कार्यान्वयन गर्छन् कि ?