काठमाडौं – पार्टीभित्रको दबाव थेग्न नसकेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अन्ततः माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । लामो समयदेखि पार्टी एकतालाई टार्दै आएका भट्टराईले वार्ता समिति भंग गर्नुका साथै केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव कार्यकारिणी बैठकमा समेत राखेका थिए ।
तर, अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठलगायतका नेताहरु एकता गर्ने पक्षमा उभिएपछि भट्टराई दबाबमा परेका हुन् । बुधबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अध्यक्ष भट्टराईको नेतृत्वमा एकता संयोजन समिति समेत गठन गरेको छ ।
बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने समिति बनाउने निर्णय गरेको हो ।