गणतन्त्रमाथि औँलो नठड्याउन ओलीको चेतावनी

20.7k Shares

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउने काम कहीँकतैबाट पनि नगर्न चेतावनी दिएका छन्।

दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते काठमाडौँमा हुने प्रर्दशनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंलो ठड्याउनेहरुलाई एमालेले तह लगाउनेसमेत बताए।

उनले भने, ‘यो धेरै ठूलो बलिदानबाट ल्याइएको व्यवस्था हो। त्यसकारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औंलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीका भाषा बोल्न चाहन्छु। लोकतन्त्रको विरुद्ध लडने कुरा त छोडिदिउँ। लोकतन्त्रको विरुद्ध औंलो ठड्यायो भने त्यो औंलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झाछौँ हामी, झारिदिन्छौँ। त्यो कुरा सबैले बुझ्नुपर्छ।’

पार्टीको जनसंगठन संयन्त्रले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौँमा उतार्ने कामलाई जोडतोडकासाथ अघि बढाए पनि त्यसले काठमाडौँमा फोहोर पार्ने बाहेक अरु कुनै काम गर्न नसक्ने जिकिर गरे।

‘७ गते म सुन्दैछु– एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोड्तोड्ले लागेका छन् देशभरबाट। व्यक्ति वा मानिसहरु उतार्नका लागि। काठमाडौँमा मानिसहरु उतार्नका लागि उनीहरु लागेका छन्। ती मानिसहरु आएर काठमाडौँमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन्। अरु केही हुनेवाला छैन,’ उनले भने।

उनले देशलाई अफ्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरुले पनि मंसिर ७ गते युवा/विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए। उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा/विद्यार्थीहरुलाई निर्देशन दिए।

ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरुले सो प्रदर्शनीको आह्वान गरेको बताए।

 

सम्बन्धित समाचार