काठमाण्डौ – ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।
रेमिट हाइड्रो लिमिटेडले बनाउन लागेको यो आयोजना वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको हो । हिजो आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ ।
आयोजनामा लक्ष्मी सनराइज बैङ्क लिमिटेडले पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले तीन अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, माछापुच्छ्रे बैङ्कले एक अर्ब ४५ करोड, एभरेष्ट बैङ्कले एक अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् ।
बैङ्क तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड रुपैयाँ बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवर्द्धक कम्पनीले जनाएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी आयोजना निर्माण गरिनेछ ।