खेलाडी र प्रशिक्षकको बलबुताले तेक्वान्दो खेल नेपालको नम्बर वान बनेको हो ः सुरेश मानन्धर

18.3k Shares

नेपालकै नम्बर वान खेलको रुपमा रहेको तेक्वान्दो खेलसँग आवद्ध काठमाडौंको बालाजु स्थायी घर भएका सुरेश मानन्धरले दुई दशकभन्दा बढी खेलाडी र प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । 
२०४८ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका मानन्धरले थुप्रै राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता जनाई पदक ल्याउन सफल भई तेक्वान्दो खेलमा अब्बल खेलाडीको रुपमा परिचय दिइसकेका छन् । मानन्धरले खेलाडीको रुपमा रहँदै ५५ सालदेखि नियमितरुपमा प्रशिक्षकको पनि भुमिका निर्वाह गर्दै आइरहेका छन् । मानन्धरले बालाजु तेक्वान्दो डोजाङ ५५ सालदेखि नियमित प्रशिक्षण दिँदै आइरहेका छन् । करिब एक सय ५० जना खेलाडीहरुले नियमित रुपमा प्रशिक्षण लिने गरे पनि गएको साल कोरोना भाइरसको महामारीका कारण लकडाउन भएकोले प्रशिक्षण लिन आउने खेलाडीहरु घटेर अहिले ६०—७० जनाले मात्र नियमित प्रशिक्षण लिने गरेको मानन्धर बताउँछन् । 
विशेष गरी आफूले प्रशिक्षण दिने गरेको बालाजु डोजाङमा प्रशिक्षणका लागि आउने खेलाडीहरु प्रायः आर्थिकस्तर कमजोर भएका आउने गर्छन् । त्यस्ता खेलाडीहरुलाई निःशुल्करुपमा प्रशिक्षण गराउँदै आइरहेको र केही खेलाडीहरुलाई न्यूनतम पारिश्रमिकमा पनि प्रशिक्षण दिने गरेको मानन्धर बताउँछन् । बालाजु वाइपासस्थित तरुण माध्यमिक विद्यालयको प्रांगणमा खुल्ला आकासमुनि २२ वर्ष देखि नियमित प्रशिक्षण दिँदै आइरहेका मानन्धर भन्छन्, ‘राज्यले नेपालको नम्बर वान खेलको रुपमा रहेको तेक्वान्दो खेललाई खासै महत्व नदिएको र तेक्वान्दो खेलका खेलाडी र प्रशिक्षकलगायत शुभचिन्तकहरुको बलबुताले गर्दा मात्र तेक्वान्दो खेलले अन्तर्राष्ट्रियस्तरमा पदक ल्याई नेपालको नाम चिनाउन सफल भएको हो ।’ 
मानन्धरसँग प्रशिक्षण लिने खेलाडीहरुले ब्रिटिस आर्मी, मकाउ, इन्डियन आर्मी, नेपाली सेनागायतमा रोजगारी पाएका छन् । यसरी २२ वर्षदेखि निरन्तररुपमा तेक्वान्दो खेलको विकास र सक्षम खेलाडी उत्पादनका लागि मानन्धरले गरेको योगदानको कदर गरी खेलकुद विकासको जिम्मेवार संस्थाले सम्मान गर्नुपर्ने थियो । तर सम्मानको त कुरै छाडौं खेलकुद विकासको जिम्मेवार संस्थाको असहयोगका बाबजुद पनि नियमित प्रशिक्षण दिँदै तेक्वान्दो खेलको विकासका लागि मानन्धर निरन्तर लागिरहेका छन् । खेलकुद विकासका लागि गठित जिम्मेवार संस्थाले खेलकुदका सामाग्री र आर्थिक सहयोग अहिलेसम्म नगरेको मानन्धर बताउँछन् । आफू तेक्वान्दो खेलसँग आवद्ध र यो खेललाई बिर्सन नसकेका कारण आर्थिक अभावको बाबजुद पनि राम्रा र सक्षम खेलाडी उत्पादनका लागि नियमित प्रशिक्षण दिँदै आइरहेको खोजतलाससँग मानन्धर दुखेसो पोख्छन् । 
तेक्वान्दो खेलको विकासका लागि आफूले दुई दशकभन्दा बढी समय विताइसकेको र निकट भविष्यमै काठमाडौं महानगरपालिकाभित्र रहेका खेलाडीहरुबीच प्रतिस्पर्धाका लागि मेयर कपको आयोजना गर्ने तरखरमा रहेका मानन्धर बताउँछन् । खेलकुदको विकासका लागि गठित संस्था र सरकारले वेवास्था गरे पनि तेक्वान्दो खेललाई माया गर्ने मानन्धर जस्ता व्यक्तिहरुकै कारण अहिले तेक्वान्दो खेल नेपालको नम्बर वान बन्न सफल भएको तेक्वान्दो खेल विशेषज्ञहरुले बताउने गरेका छन् । मानन्धर हाल प्रशिक्षकलगायत राष्ट्रिय निर्णायकको रुपमा भूमिका निभाइरहेका छन् ।
प्रशिक्षक मानन्धरलाई तेकावान्दो संघद्वारा कोरियामा तिन हप्ते पार्टनरसिप तेक्वान्दो प्रशिक्षणका लागि पठाएको थियो । त्यहाँ लिएर आएको प्रशिक्षणको शेयर अहिले आफ्ना खेलाडीहरुलाई गर्दै आइरहेको मानन्धर बताउँछन् । 

सम्बन्धित समाचार