काठमाडौं । गत साता मात्रै मूल्यमा रेकर्ड कायम गरेको सुनको भाउ एकै दिन ६ हजार २ सय रुपैयाँले झरेको छ ।
मंगलबार (हिजो) को तुलनामा आज (बुधबार) तोलामा ६ हजार २ सय रुपैयाँले भाउमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि झरेर तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको भाउमा पनि एक दिन तोलामा २२५ रुपैयाँले झरेको छ । मंगलबार तोलाको १४ सय ३५ पुगेर नयाँ रेकर्ड कायम गरेको चाँदी आज १२ सय १० रुपैयाँमा झरेको छ ।
रसियाले कोरोना भाइरसको भ्याक्सिन सफलतापूर्वक परीक्षण गरेको र त्यसले विश्व बजारमै सकारात्मक सन्देश दिँदा सुनचाँदीको भाउमा असर पुगेको व्यवसायी बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आउनुको कारण रसियाले कोरोनाको भ्याक्सिन सफलतापूर्वक परीक्षण गरेकाले नै भएको बताउँछन् । “कोभिड १९ को संक्रमण बढ्दै जाँदा सुनमा सुरक्षित देखेर लगानी गरिएको थियो अब भ्याक्सिन आयो भन्ने खबरले सुनमा लगानी गरेका लगानीकर्ताले फेरी सुन बेच्न थालेकाले सुनको भाउ घटेको हो,” उनले भने ।
उद्योगधन्दा अब विस्तारै खुल्दै आउने र सुनमा गरिएको लगानी उद्योग व्यवसायमा जाने संकेत देखिएको व्यवसायीको भनाइ छ ।