काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अहिले कोही टाउको दुखाई बनेका छन् भने माधवकुमार नेपाल नै हुन् । पाँच दशक एउटै दलका सहयात्री नेपाल र ओलीबीच अहिले सबैभन्दा ठूलो टकराव बनेको छ । ओलीको एकछत्र सत्तामा हालीमुहाली गरेर टिक्ने अभिप्रायमा नेपाल नै मुख्य बाधक बन्दै आए । अहिले एमालेभित्र पनि ओली नेपालबाट सबैभन्दा ठूलो चुनौती झेलिरहेका छन् । कर्णाली प्रदेशमा माधव नेपालकै निर्देशनमा ४ सांसदले फ्लोर क्रस गरेपछि ओली त्यहाँ रणनीतिक रुपमै असफल भए । त्यसले केन्द्रमा समेत ओलीविरोधीमा उत्साह जाग्यो । लुम्बिनीमा जेनतेन सरकार बचाउन जसपाको साथ लिएका छन् । तर, त्यो भरपर्दो छैन ।
सत्ताकै लागि संघर्षमा रुमल्लिएका ओलीले कुनैपनि बेला आउनसक्ने अविश्वासको प्रस्तावको सामना गर्न नयाँ राजनीतिक अस्त्र फालिसकेका छन् । उनले एमसीसीको अस्त्र फालेर संसद अधिवेशन नै अन्त गर्न लगाए । अविश्वासको प्रस्तावलाई तत्काल टारेपनि विशेष अधिवेशनको सम्भावना छ । यसैलाई दृष्टिगत गरी ओलीले सम्भावित फ्लोर क्रस टार्न एमालेको सुर्य चिन्ह लिएर जितेकाहरुलाई सांसद पदबाट मुक्त गर्ने धम्की दिएका छन् । धम्कीबाट डराएर बालुवाटार पुगेकाहरुको पद नखोस्ने र बाँकी २७ जनाको पद खोस्ने प्रक्रिया बढाएका छन् ।
ओलीले बारम्बार माधवकुमार नेपाललाई पार्टी फुटका लागि वाध्य पार्न खोजेका थिए । तर, लामो राजनीतिक अनुभव सँगालेका नेपाल चतुर भए । उनले पार्टी फुटाउनुको साटो समानान्तर कमिटी गठन गरी निरन्तर संघर्ष गरे । नेपालले पार्टी फुटाएको भए उनको सांसद पद स्वतः जान्थ्यो । उनीसँगै पार्टी फुटाउन साथ दिनेहरुमध्ये कतिपय सांसद ओली कहाँ फर्कन्थे र बाँकी पनि सांसद पदबाट मुक्त हुन्थे । यही बुझेर कुनै हालतमा एमाले नछाड्ने अडानका साथ बसेका नेपालले कानुनी आधार बलियो बनाएर बसेको देखियो । उनलाई यथावस्थामा ओलीले सांसद पदबाट मुक्त गर्न सक्नेछैनन् ।
सत्ता जोगाउन एकपछि अर्को कुटिल चालहरु चाल्दै आएका ओलीले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना प्रतिनिधि सभाका सांसदलाई पदमुक्त गर्ने प्रक्रिया बढाइसकेका छन् । उनीहरुविरुद्ध पार्टी विधानविरुद्ध गएको भन्दै स्पष्टिकरण सोधिएको छ । उपयुक्त जवाफ नआए सांसदबाट पदमुक्त गर्ने तयारी छ । ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा सम्भावित फ्लोर क्रस गर्न सक्नेहरुलाई सांसदबाट हटाउन खोजेका हुन् । तर, माधव नेपाल र झलनाथ खनाल समूहले सांसदबाट हटाउन खोजे अदालत जाने तयारी समेत गरेका छन् । दल त्याग नगरेको अवस्थाका अलावा केही निश्चित कारणबाहेकमा कुनैपनि दलले सासदलाई पदमुक्त गर्न पाउँदैन । सांसदबाट राजीनामा दिएको अवस्था, दल त्याग गरेको अवस्था, सदनलाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेको अवस्था या मृत्यु भएको अवस्थामा मात्र सांसद पदबाट मुक्त हुने व्यवस्था छ । यी अवस्था नरहेमा सांसद पदबाट मुक्त गर्न संविधानले दिँदैन । ओलीले सांसदबाट हटाउन खोजेपछि माधव नेपालले यी कुनैपनि अवस्था सृजना गर्न दिएका छैनन् । उनले नेकपा एमाले परित्याग गरेका छैनन् । उक्त दलबाट निलम्बन मात्र गरिएको छ ।
संविधानको धारा ८९ मा स्पष्ट रुपमा संघीय संसद सदस्यको स्थान रिक्त हुने ६ वटा प्रावधान राखिएको छ । त्यसको ख मा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा सांसद पद रिक्त हुने व्यवस्था पनि छ । धारा ८७ ले ५ वटा उपधारा राखेर सांसद हुने योग्यता उल्लेख गरेको छ । यो बाहेकको अवस्थामा सांसद पद रिक्त हुन्छ । माधव नेपालसहित २७ जना नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको, लाभको पदमा बहाल रहेको अवस्था छैन । यसकारण पनि उनीहरुको सांसद पद रिक्त हुने कानुन कमजोर छ । यसैका आधारमा नेपाल पक्षले ओलीको कदमको सामना गर्ने देखिन्छ ।
२७ जनालाई सांसद पदबाट मुक्त गर्ने निर्णय लिएर सभामुखलाई पत्र लेखी पठाएमा पनि संविधान अनुसार हटाउन मिल्दैन । सभामुख अग्निप्रसाद सापकोटालाई २७ जनालाई पार्टीले लेखी पठाएकै आधारमा सांसद पदबाट हटाउन नमिल्ने अवस्थाबीच अर्को चुनौती सृजना हुन सक्छ । यसकारण माधव नेपाल सांसदमा रहिरहने आधार बलियो छ । ओलीले तारो बनाएका यिनै २७ जना उनलाई सत्ताबाट हटाउने अस्त्र बन्न सक्ने सम्भावना देखिएको छ । यो उद्देश्य पूरा गरेपछि मात्र नेपाल कारबाही भोग्न तयार देखिनेछन् । त्यसपछि उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर आगामी चुनावमा जाने गरी भित्री तयारी गरिसकेका छन् ।
प्रतिनिधि सभा रहँदासम्म सांसद हुने या ओलीलाई हटाउन जुनसुकै जोखिम मोल्ने गरी नेपाल बढेका छन् । उनले मर्ता क्या नही कर्ता भनिसकेका छन् । आत्मघाती बन्न तयार हुनेगरी माधव नेपाल बढेका छन् । प्रतिनिधि सभा नरहेर नयाँ चुनावमा गएको अवस्थामा भने फरक परिस्थिति आउन सक्छ । त्यतिबेला माधव नेपालले कि त एमालेमा आफ्नो पकड कायम गर्ने रणनीति बनाउने देखिन्छ कि त प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी गठन गर्ने देखिन्छ । तत्काल माधव नेपालले एमाले फुटाउने सम्भावना देखिँदैछ । उनी भविष्यमा प्रचण्डसँग सहकार्य गरी चुनावमा जाने गरी संगठन बलियो बनाउन सक्रिय छन् । समर्थकहरुको संख्या जोगाउने र सक्रिय बनाउने गर्दै निरन्तर संघर्षरत छन् ।