काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशमा बिद्रोह गरी कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै बागमती प्रदेश पनि बिद्रोहको तयारी भएको बुझिन आएको छ ।
बागमती प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेस भए तापनि कांग्रेसको नेतृत्व गरेको बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामाको असक्षमताका कारण कांग्रेसभित्र बिद्रोहको तयारी हुन लागेको कांग्रेसका एक माननीयले जानकारी गराएका छन् ।
सरकारको नेतृत्व गरेका संसदीय दलका नेता लामाले सरकारमा राम्रो भूमिका निर्वाह गर्न नसकेको कारण कांग्रेसकै अधिकांश सांसदहरु रुष्ट बन्दै आइरहेका कारणले पनि दशैंपछि लगत्तै बहादुर सिंह लामालाई पाखा लगाउने तयारी भएको ती माननीयले बताए ।
कात्तिक २ गते प्रेस युनियनको एक कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले बागमती प्रदेश सरकारका नेतृत्व गरिरहेका कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले सरकारमा रही राम्रो भूमिका निर्वाह गर्न नसकेको र कांग्रेसलाई नै कम्जोर बनाउने कार्य गरेको माननीयहरुले आफूलाई गुनासो पोखेको बताएका थिए । सोही कारण पनि कोशी जस्तै बागमती प्रदेशमा पनि संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने भइसकेको उनले बताएका थिए ।
बजेटको विषयलाई लिएर पार्टी सभापति देउवालाई बागमती प्रदेशका अधिकांश सांसदहरुले भेटी लामाले गरेको गतिविधिप्रति गुनासो पोख्दा देउवा लामाप्रति निकै आक्रोसित बनेका छन् । त्यसैकारण पनि देउवा निकट मानिने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउन देउवा तयारी अवस्थामा देखिन्छन् ।
संसदीय दलका नेता बहादुर सिंह लामाको गतिविधि र आफूलाई प्रमुख सचेतकको भूमिका दिए पनि सो पद अनुसारको जिम्मेवारी नदिएको कारण माननीय कुन्दन काफ्लेले राजीनामा दिइसकेका छन् । काफ्लेले राजीनामा दिएको झण्डै तिन महिना बितिसक्दा पनि अहिलेसम्म सो पदमा नियुक्तसम्म लामाले गर्न सकिरहेका छैनन् ।