इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए

21.2k Shares

काठमाडौँ– इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन् ।इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा जकारिया अबु मुअम्मर र जवाद अबु शमाला मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ । 

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईका अनुसार हवाइ आक्रमणमा मारिने अबु शामाला हमासका अर्थमन्त्री समेत हुन् । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे । 

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ । 

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी इजरायलमा ९ सय बढीको मृत्यु भइसकेको छ भने ३ हजार बढी घाइते भएका छन् । 

यता, प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ सय बढी पुगेको छ भने घाइते हुनेको संख्या ४ हजार नाघेको छ ।

सम्बन्धित समाचार