सरकारले चासो नदेखाए पनि विगत पाँच वर्षदेखि निरन्तरता दिँदै आएको छु ः संयोजक महर्जन
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १ स्थित चापागाउँको प्याङगाउँ चौरमा बिर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आजबाट सुरु भएको छ ।
चैत २५, २६ र २७ गतेसम्म आयोजित हुने बिर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बाली बेलुन उडाई उद्घाटन गरेका थिए ।
खेलकुद क्षेत्रमा योगदान पु¥याएका खेलाडी, समाजसेवी र बिर गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता आयोजना गरेदेखि नै प्रचारप्रसारमा योगदान पु¥याएका पत्रकारहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने पत्रकारहरुमा विश्वनाथ आचार्य, राजु बस्नेत, केदारनाथ दाहाल, रमेश घिमिरे, विमल योगी कृष्ण पहाडी रहेका छन् ।
उद्घाटन खेलमै मुवाँथाईका ५० केजी तर्फ कविन देशार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कबिनले उसुका कृष्ण खड्कालाई पराजित गरेका थिए । सोही प्रतिस्पर्धामा उसुका कमल कठायत, नेपाली सेनाका सुनिल कुँवर, एपीएफका रोशन अछामी, सेनाका धर्मेन्द्र राम, एपीएफका संगम विक, मुवाँथाईका पेम्पा तामाङ र छम्पीका राजेन्द्र लामा पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै, ५५ केजी तौल समूहमा मुवाँथाईका दावा कुन्जे शेर्पा, उसुका कृष्ण खड्का, नेशनल किक बक्सिङका हरि मिजार, एपीएफका रोहित सुनार, आयोजक ललितपुर गणेश लोहार, नेशनलका मनोज राना मगर, भक्तपुरका सिरुष भुजु र एपीएफका तीर्थराज थापा क्याटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ६० केजी तौल समूहमा मुवाँथाईका अब्राहम, एपीएफका निशान दास, सेनाका कमल आचार्य, पोखराका सञ्जय परियार र एपीएफका मंगलप्रसाद थारु क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आकर्षक नगदसहितको पुरस्कार प्रतियोगिता अन्तर्गत महिला ५५ केजी समूहमा एपीएफकी विद्या गुरुङ, सेनाकी नविना घलान, सेनाकै मनिषा प्रधान र एपीएफकी कमला बोहराले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । त्यस्तै, ५० केजी समूहमा एपीएफकी गौरी घर्ती मगर, सेनाकी शान्ति थापा र एपीएफकी सरु सोतीले सेमिफाइनलमा प्रवेश गर्न सफल भएकी छिन् ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटित सो प्रतियोगितामा पदक विजेता खेलाडी र शिर्ष तिन स्थानमा रहने टिम र उत्कृष्ठ पुरुष—महिला खेलाडी गरी कुल नगद पुरस्कार नौ लाख ५७ हजार रुपैयाँ रहेको सो प्रतियोगिताका संयोजक एवम् नेका खेलकुद विभागका केन्द्रीय सचिव मीन कृष्ण महर्जनले खोजतलासलाई बताए । सो प्रतियोगिताको स्वागत मन्तव्य दिने क्रममा संयोजक महर्जनले भने, ‘यस्ता राष्ट्रिय स्तरका प्रतियोगिताहरु सरकार आफैले गर्नुपर्ने थियो । तर सरकारले यस्ता प्रतियोगिताहरुमा खासै चासो नदेखाए पनि खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले विगत पाँच वर्षदेखि आफूले यस प्रतियोगितालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।
सो प्रतियोगिताको सभापतित्व किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी तथा ललितपुर किक बक्सिङका अध्यक्ष विनोद महर्जनले गरेका थिए ।