काठमाडौं । प्रहरीले के सम्म गर्दो रहेछ भन्ने कुरा गत शुक्रबार कालीमाटिस्थित एक सहकारीमा भएको घटनाले उजागर गरेको छ ।
कालिमाटी शाखाको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभमा बचतकर्ताहरुले कार्यालयका कर्मचारीहरुलाई तथानाम गालीगलौज, कागजात यत्रतत्र छरिदिनुका साथै कार्यकक्षमा रहेका कर्मचारीलाई हातपात गर्न थालेपछि आफूहरुको सुरक्षाका लागि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।
कर्मचारीको खबर पाएका प्रहरीहरुले उल्टै सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभ कालिमाटी शाखाकी प्रबन्धक स्वच्छन्दा मानन्धरलाई शान्ति सुरक्षा दिनुका सट्टा हतकडी लगाई सामाजिक मानमर्दन गर्नुका साथै सामाजिक संजाल टिकटकमा हतकडी लगाएको भिडियो सार्वजनिक गरी पीडामाथि झन पिडा थप्ने काम प्रहरीले गरेको छ ।
आफूहरुले नै शान्ति सुरक्षाको लागि प्रहरीलाई खबर गरेको तर उल्टै प्रहरीले आफूलाई हतकडी लगाई सामाजिक मानमर्दन गर्नुका साथै भिडियो खिची सामाजिक संजालमा पोस्ट गरी पीडामाथि झन पिडा थप्ने काम प्रहरीले गरेको गुनासो प्रबन्धक मानन्धरले खोजतलासलाई गराएकी छिन् ।
देशमा सहकारीहरुमा भएको आर्थिक संकटका बाबजुद पनि आउँदै गरेको चाडवाडलाई मध्य नगर गर्दै बचतकर्ताहरुलाई केही रकम उपलब्ध गराउने उद्देश्यले योजनाहरु बनाइरहेको अवस्थामा प्रबन्धक मानन्धरलाई बचतकर्ताहरु रबिन्द्र महर्जन, गोविन्द महर्जन, दिपक श्रेष्ठ, लक्ष्मण बुढाथोकी, रबिन्द्रभक्त श्रेष्ठ, भगबती डंगोललगायत बचतकर्ताहरुले तथानाम गालीगलौज, घेराबन्दी, तोडफोड गर्नुका साथै कार्यालयका कागजातहरु यत्रतत्र छर्ने कार्य गरेपछि वाध्य भएर प्रहरीलाई बोलाएको मानन्धरले बताएकी छिन् । तर प्रहरीले कुरै नबुझी उल्टै आफूलाई हतकडी लगाएको र सामाजिक संजालमा भिडियो पोस्ट गरेकोप्रति दुःख व्यक्त गरेकी छिन् ।
यस विषयमा कालीमाटी प्रहरी वृत्तका प्रमुख डीएसपी नरहरि अधिकारीसँग यस घटनाको विषयमा बुझ्न खोज्दा उनले हलु्का जवाफ दिँदै, ‘हुलमुलमा यस्तो हुन गएको हो, पछि हतकडी खोलिदिएको र उहाँहरुसँग कुरा मिलिसकेको भन्दै गैरजिम्मेवार उत्तर दिई फोन काटे ।’ तर, मानन्धरले आफूलाई मानमर्दन गरी हातपात गर्ने र कार्यालयका कागजात यत्रतत्र छरिदिएकाहरुलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर टेकुले कालिमाटी प्रहरी बृत्तमा सिफारिस गर्दा पनि पत्र दर्ता नै नगरी उल्टो आलेटाले गरी, पिडकहरुलाई उन्मुक्ति दिने काम कालीमाटी प्रहरी वृत्तका डीएसपी नरहरि अधिकारीले नै गरिरहेको खोजतलासलाई मानन्धरले गुनासो पोखेकी छिन् ।