भाडाको फ्ल्याटमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा सञ्चालक र जबर्जस्ती करणीमा संलग्न ५ जना पक्राउ

18.5k Shares

काठमाडौं, चैत १९ । फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको माकलबारीका फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्ने र किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तीन पुरुष र दुई युवतीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर माकलबारी बस्ने २४ वर्षीय श्यामकुमार भट्टराई, सिन्धुली घर भइ माकलबारीमै डेरा गरी बस्ने १९ वर्षीया मसेली भनिने सुहाना तामाङ, काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गाउँपालिका ४ घर भइ हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापामगर र काठमाडौंको कागेश्वर मनहरा नगरपालिका १ गागलफेदी बस्ने ४७ वर्षीय कुमार सुनार छन् । सुनार किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सुहाना तामाङ र श्यामकुमार भट्टराइले माकलबारीमा यौन व्यवसाय सञ्चालनका लागि व्यवस्थित खालको फ्ल्याट भाडामा लिएको पाएको छ । पक्राउ परेकी १९ वर्षीया सुहाना तामाङले केही दिन पहिले १६ वर्षीया किशोरीलाई कपडा पसलमा जागिर लगाइदिन्छु भनेर फकाएर गाउँबाट काठमाडौं ल्याएकी थिइन् । काठमाडौं ल्याएपछि जबर्जस्ती फ्ल्याटमा राखेर यौन व्यवसायमा लगाएपछि घटना सार्वजनिक भएको हो ।
‘त्यो फ्ल्याटमा युवतीहरुलाई सामूहिक रुपमा खान, बस्न र सुत्न मिल्नेगरी व्यवस्थापन गरिएको रहेछ,’ डिएसपी गिरीले भने, ‘त्यहाँबाट विभिन्न होटलमासमेत पुर्याएर किशोरी र युवतीहरुलाई ग्राहकसँग यौन सम्पर्क गर्न बाध्य पारिएकोसमेत पाइयो ।’ प्रहरीले फ्ल्याटबाट कण्डमसहितका सामान पनि बरामद गरिएको जनाएको छ ।
पक्राउ परेका ढुंगेल र थापा पाथिभरा फेमिली कटेज एण्ड खाजाघर भनिने सुन्दरीजल होटलका सञ्चालक हुन् । सोही होटलमा राजकुमार सुनारले चैत १४ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेपछि घटना सार्वजनिक भएको हो । किशोरी भागेर घर गएपछि फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन भएको घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । किशोरीका बुवाले दिएको उजुरीको आधारमा प्रहरीले फ्ल्याटमा खानतलासी लिनुका साथै अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
पीडित किशोरीका बुवाले बुधबार प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए । त्यस लगत्तै परिसरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहहरुलाई अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीे जनाएको छ ।
 

सम्बन्धित समाचार