पार्टी एकता जोगाउन नेकपाका सांसदहरुले पत्रकार सम्मेलन गर्दै

17.3k Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरूले पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
पार्टीभित्रको विवाद सघन बनिरहेका बेला एकताको पक्षमा उभिने प्रतिबद्धतासहित पत्रकार सम्मेलन गर्न लागेको आयोजकहरूले बताएका छन् । साविक माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको स्थानमा दिउँसो दुई बजे गर्न लागेको पत्रकार सम्मेलनमा पार्टी एकताको रक्षा र सुदृढीकरणका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिने आयोजकमध्येका सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।
“एकतालाई सुदृढ तुल्याउने र वर्तमानमा जेजस्ता चुनौती देखिएका छन्, पार्टीभित्र देखा परेका समस्या समाधानका लागि सांसदका हैसियतले समाधान गर्न सामूहिक प्रतिबद्धता पत्र तयार पारेका छौं, त्यो सार्वजनिक गर्ने कार्यक्रम हो,” सुनुवारले भने ।
पार्टी एकताको २५ महिना बित्दा पनि नेकपाको संसदीय दलको कार्यालय एक भएको छैन । साविक माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देव गुरूङको कार्यकक्ष छ । पार्टी एकता सङ्कटमा परेका बेला सन्देश प्रवाह गर्न पत्रकार सम्मेलनको थलो यसैलाई बनाइएको सांसदहरूले बताएका छन् ।
पत्रकार सम्मेलनमा तीनै विचार समूहका सासंदहरू उपस्थित हुनेछन् । संसद अधिवेशन अन्त्य भएकाले धेरै सांसद निर्वाचन क्षेत्रमा छन् । प्रतिबद्धता पत्रमा ५० जनाभन्दा बढी सांसदहरूले हस्ताक्षर गरेको बताइएको छ ।

सम्बन्धित समाचार