रोमाञ्‍चक बन्दै च्याम्पियन्स लिगका अन्तिम आठका खेल

16.5k Shares

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्‍वार्टरफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट अन्तिम १६ को खेल सकिएसँगै प्रतियोगिताको अन्तिम आठमा पुग्‍ने टोलीको टुंगो लागेको हो ।
च्याम्पियन्स लिगको यो सिजनको अन्तिम आठमा प्रतिस्पर्धा गर्ने टोलीको प्रतिस्पर्धा भने निकै रोमाञ्‍चक हुने देखिएको छ । खेलहरु सबै नकआउट पद्धतिमा खेलाइनेछन् ।
सबै टोलीलाई एउटै खेलबाट अघिल्लो चरण प्रवेशको ढोका खोल्न मौका मिल्नेछ । कोरोना भाइरसको महामारीका कारण केही समय ढिला सुरु भएको लिगमा होम र अवे खेल नहुने भएका कारण सबै खेल लिस्वनमा हुनेछन् ।
च्यम्पियन्स लिगको अन्तिम आठमा यस सिजन स्पेनिस क्लब बार्सिलोना, एट्लेटिको मड्रिड, जर्मन क्लब बायर्न म्युनिख, आरबी लिपजिग, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), लियोन, इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब एटलान्टा क्‍वार्टरफाइनलमा पुगेका छन् ।
क्‍वार्टरफाइनलमा बार्सिलोना र वायर्न म्युनिखबीचको खेल निकै रोमाञ्‍चक हुने बुझिएको छ । दुई टोलीबीचको खेल अगस्त १४ मा हुनेछ । वायर्न पछिल्लो समय राम्रो फर्ममा रहेको टोली हो । जर्मन च्याम्पियन टोली बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउने योजनामा हुनेछ ।
यता यो सिजन कुनै पनि उपाधि जित्‍न नसकेको बार्सिलोना च्याम्पियन्स लिग जित्ने योजनामा छ । त्यसका लागि बलियो वायर्नसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
यस्तै म्यानचेस्टर सिटीले लियोनसँग अगस्त १५ मा खेल्नेछ । पीएसजीले एटलान्टासँग अगस्ट १२ मा खेल्दा एट्लेटिकोले लिपजिगसँग अगस्त १३ मा खेल्नेछ ।
सिटी र लियोनबीचको खेल पनि निकै रोमाञ्‍चक हुने देखिन्छ । दुवै टोली यो सिजन राम्रो लयमा छ । लियोन युभेन्ट्सलाई अन्तिम १६ मा इटालियन च्याम्पियन टोलीलाई पराजित गरेर आएको टोली हो भने सिटी इस्पेनिस च्याम्पियनलाई हराएर आएको टोली हो ।
बार्सिलोनाका मुख्य प्रशिक्षक किके सेटियनले क्‍वार्टरफाइनलका खेलहरु सबै रोमाञ्‍चक हुने बताएका छन् । उनले सबै खेल फाइनल खेलसरह हुने बताए । एउटा मात्र लेग हुने भएकाले खेलमा निकै चनाखो भएर लाग्‍नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार