हप्ता १० दिनमा ओलीविरुद्ध अविश्वास प्रस्ताव : शशांक

16.1k Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हप्ता/१० दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन आज विराटनगर पुगेका कोइरालाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओली सरकार अवैधानिक भएकाले त्यसको विकल्प अनिवार्य भएको बताए ।
“अबको हप्ता/१० दिनमै ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ,” उनले भने, “कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्रीको विकल्प दिन्छन् ।” उनले ओलीको विकल्पमा आउने सरकारको नेतृत्व नपाली कांग्रेसको हुने बताए ।
यस्तै, शशांकले ओली सरकार अवैधानिक भएकाले अवैधानिक सरकार लामो समय टिक्नु पनि देशका लागि सकारात्मक कुरा नभएको बताए । “जुन संसद् ओलीले विघटन गरेर समाप्त पार्ने प्रयास गरे, त्यही संसद् पुनःस्थापित भएपछि पनि उनी बसिरहनु अनैतिक र अवैधानिक हो,” उनले भने, “यस्तो अनैतिक सरकार रहनु देशको हितमा हुँदैन । त्यसैले यसको विकल्प अनिवार्य छ ।”
डा. कोइरालाले कांग्रेसको नेतृत्वमा बन्ने सरकार चुनावी सरकार हुने बताए । “अहिलेको संसद्मा कम्युनिस्ट पार्टीको बहुमत छ, यो बहुमतलाई लत्याउने र जनमतको अपमान गर्ने काम कम्युनिस्टहरुबाट भएको छ,” उनले भने, “कांग्रेस नेतृत्वको सरकार चुनावी सरकार हुनेछ । त्यो सरकारले ताजा जनादेश लिएर देशलाई निकास दिनेछ ।” उनले अहिले कांग्रेसको ध्येय ओलीको विकल्प मात्र नभई देशलाई ताजा जनमतमार्फत निकास दिनु भएको पनि बताए ।

सम्बन्धित समाचार