नेपालमा खेलकुद विकासका लागि दुरदृष्टि राख्ने खेलकुदलाई माया गर्ने नेतृत्वमा नआएसम्म नेपालको खेलकुदले प्रगति गर्न नसक्ने दुई दशक तेक्वान्दो खेलप्रति आवद्ध रहेका तेक्वान्दोका प्रशिक्षक बब्लु सिवाकोटी बताउँछन् ।
जबसम्म खेलकुद क्षेत्र विकासका लागि राजनीतिकरण नगरी खेलकुदलाई बुझेको व्यक्तिलाई नेतृत्वमा ल्याउँदैन तबसम्म नेपालको खेलकुद क्षेत्र झारो टार्ने हिसावले मात्र चल्ने सिवाकोटी बताउँछन् । विदेशमा एउटा राम्रो खेलाडी उत्पादन गर्न पाँच वर्षसम्म राज्यले सम्पूर्ण सेवा सुविधा र खेलाडीको भविष्य सुनिश्चित गराई दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउनुका साथै विभिन्न राष्ट्रहरुमा लगी प्रशिक्षण दिलाउने काम गर्छ । अनि पो त्यो खेलाडीले राम्रो खेल प्रदर्शन गरी राष्ट्रको झण्डा विश्वसामु चिनाउने गर्छ । तर, नेपालले कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि एक वर्ष अगाडि खेलाडी छनौट गरिसकेपछि करिब ६ महिना अगाडि मात्र बन्द प्रशिक्षणको व्यवस्था गर्ने गर्छ । यसरी ६ महिना प्रशिक्षण लिने र अन्य विदेशमा गएर गरिने प्रशिक्षणमा पनि झारो टार्ने हिसावले गर्ने, खेलाडीहरुलाई प्रशिक्षण दिने प्रशिक्षक पनि दक्ष, अनुभवी क्षमता नहेरी राजनीतिक नियुक्ति गराउने प्रवृत्ति र प्रशिक्षणका लागि विदेशमा गएका प्रशिक्षकहरुले बहन गर्नुपर्ने जिम्मेवारी बहन नगरी विदेश घुम्न गएको हिसावले जाने र खेलाडीहरुको प्रशिक्षणमा खासै ध्यान नदिने प्रवृत्ति छ । अनि खेलाडीले कसरी राम्रो खेल प्रदर्शन गर्न सक्छन् ?
राज्यले राष्ट्रको गहनाका रुपमा रहेका खेलाडीहरुलाई पदक ल्याउने लक्ष्यसहित निःस्वार्थरुपमा कम्तिमा पाँच वर्ष अगाडिदेखि लगानी गर्ने हो भने तेक्वान्दो खेलले एसियन गेमदेखि लिएर ओलम्पिक गेममा समेत पदक ल्याउन कुनै कठिनाई नपर्ने प्रशिक्षक सिवाकोटी बताउँछन् । सिवाकोटी थप्छन्, ‘खेलाडी छनौट, प्रशिक्षक छनौटमा राज्य कुनै पूर्वाग्रही नभई तेक्वान्दो संघमार्फत लगानी गरी नियमित दैनिक रुपमा करिब ५ वर्ष अगाडिदेखि खेलाडीलाई प्रशिक्षण दिने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराउने वातावरण बनाई दिने, खेलाडी तथा प्रशिक्षकको बिमालगायत खेलेरै दैनिक जिविको पार्जन गर्ने र भविष्य सुनिश्चित हुने वातावरण बनाई दिएको खण्डमा तेक्वान्दो खेलले नेपालको नाम विश्वसामु फैलाउन कुनै कठिनाई पर्ने छैन ।’
नेपालको परिवेशमा भन्ने हो भने प्रशिक्षकलाई सामान्य जिविकोपार्जन गर्न समेत धौधौ पर्ने अवस्था छ । विकसित अवस्थामा रहेको तेक्वान्दो खेलको समय—समय अनुसार अन्तर्राष्ट्रियस्तरमा नियम परिवर्तन भइरहने कारणले प्रशिक्षकले यसतर्फ ध्यान दिई प्रशिक्षक पनि चनाखो भई खेलाडीलाई प्रशिक्षण दिलाउनुपर्ने हुन्छ । खेलाडीलाई प्रशिक्षण दिँदासक्षम र प्रशिक्षण दिलाउन सक्ने खुवी प्रशिक्षकमा हुनुपर्छ अनि मात्र सफल प्रशिक्षक बन्न सकिन्छ ।
झण्डै दुई दशक अगाडिदेखि तेक्वान्दो खेल खेलेका चौथो डानका रुपमा रहेका बब्लु सिवाकोटी हाल तेक्वान्दोका प्रशिक्षकका रुपमा रहेका छन् । सिवाकोटीले नागार्जुन नगरपालिका वडा नं. ४ खोपाटोलस्थित सीतापाईला तेक्वान्दो डोजाङमा करिब ६० जना खेलाडीलाई प्रशिक्षण दिँदै आइरहेका छन् । खेलाडीहरुलाई कमभन्दा कम शुल्कमा प्रशिक्षण दिलाउँदै आइरहेको सिवाकोटी बताउँछन् । सितापाइला डोजाङलगायत फुर्सदको समयमा विभिन्न स्कुलहरुमा पनि विद्यार्थीहरुलाई तेक्वान्दोको प्रशिक्षण दिँदै आइरहेका छन् । सिवाकोटीले गुरुकुल, निर्माना, डीपीएस, वेस्ट उड, आर्य एकेडेमीलगायतका स्कुलहरुमा समय मिलाएर प्रशिक्षण दिँदै आइरहेका छन् ।
सिवाकोटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडीको समेत भूमिका निर्वाह गरी पदक ल्याउन सफल बनिसकेका छन् । राष्ट्रियस्तरका थुप्रै गेमहरुमा सहभागिता जनाई पुम्से विधामा लुम्बिनी च्याम्पियनसिपमा रजत पदक ल्याउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाइसकेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा मकाउ, अष्ट्रेलिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, कोरियालगायतका मुलुकहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेका सिवाकोटीले पदक हासिल गरी नेपालको झण्डा फहराउन सफल बनिसकेका छन् । आफू पनि खेल्ने र प्रशिक्षकको भूमिका पनि निभाउँदै आएका सिवाकोटीले झण्डै एक दर्जन अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको बताउँछन् । खेलाडी भएर दैनिक जिविकोपार्जन गर्न धेरै नै कठिनाई भइरहेको अवस्थामा पनि नेपाली खेलाडीहरुले आफूले सकेको खेल प्रदर्शन गर्दै आइरहेका छन् । वास्तवमा भन्ने हो भने एउटा सक्षम खेलाडी बन्न धेरै नै लगानी गर्नुपर्ने हुन्छ, यसमा राष्ट्रले कुनै पूर्वाग्रह नराखी सक्षम खेलाडीहरुलाई राम्रो लगानी गर्नुका साटो राजनीतिकरण गरी सक्षम खेलाडीहरुलाई मौका नै नदिई राजनीतिक कार्यकर्ताहरुलाई खेलाडी र प्रशिक्षक बनाई विदेश लाने प्रवृत्तिका कारण पनि सक्षम खेलाडी र प्रशिक्षकको मनोबल गिर्ने काम भइरहेको छ । सोही कारण पनि सक्षम खेलाडी र प्रशिक्षकहरु विदेशिन बाध्य भएका हुन् ।